गोपाल प्रसाद भट्टराई,अर्घाखाँची
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले कृषि,पर्यटन र उद्योग नै अर्घाखाँचीको आर्थिक समृद्धिको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत आज भुमिकास्थान नगरपालिकामा आयोजित बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उर्वर भुमियुक्त पहाडि जिल्लाको रुपमा चिनिएको अर्घाखाँचीमा आर्थिक समृद्धिको निम्ती कृषि,पर्यटन र उद्योग प्रमुख आधार भएको जिकिर गर्दै समन्वय प्रमुख कोइरालाले यिनको व्यवसायिक विकासमा जोड दिनुभएको छ । पर्यटनलाई व्यवसायिक बनाउन जिल्लाभर रहेका पर्यटकिय क्षेत्र तथा स्तम्भलाई सबै निकायले संस्थागत गर्नुपर्ने तर्क गर्नुभएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सुरुवात गरेको यो अभियानलाई सबैले साथ दिएर महाअभियान बनाउनुपर्नेमा समन्वय प्रमुख कोइरालाले जिल्लाका सरोकारवाला सबैको ध्यानाकर्षण समेत गराउनुभएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्य र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले मन्तव्य राख्दै पर्यटनलाई व्यवसायिक बनाउनको निम्ती सरकारदेखि जनस्तरसम्मको साथ सहयोगको खाँचो औल्याउनुभएको छ ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका नगर प्रमुख थापाले भुमिकास्थानले कृषि,पर्यटन र उद्योगको व्यवसायिक विकास गरि रोजगारी सिर्जना गर्न कर्मशिल जनशक्ति परिचालन कार्यक्रम संचालन गरेको जानकारी समेत गराउनुभएको छ । सुपादेउराली आएका पर्यटकलाई मसिनाको लेक, सेङलेङ्ग लेक, दह, पाथिभरा मन्दिर अवलोकन गराएर सेङलेङ्ग होमस्टेमा बास बसाली वडानम्बर २ मा रहेको भुमिकास्थानको नाम रहेको भुमेमन्दिर दर्शन गराएर मालारानी एवम् सन्धिखर्क पठाउने योजना अनुसार पर्यटन कार्यक्रम अगाडि बढाएको नगरप्रमुख थापाको भनाई छ ।
पत्रकार महासंघका जिल्ला सह–सचिव हृदय कुमार भुसालको सहजीकरण र सदस्य जितेन्द्र खत्रीको सन्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान–४ का अध्यक्ष तथा नगरप्रवक्ता बाबुराम पन्थी, ९ का अध्यक्ष खेमराज चुँदाली, १० का अध्यक्ष खगिश्वर पन्थी, भुमिकास्थान नगरपालिकाका योजनाशाखा प्रमुख हरिश्चन्द्र भुसाल, जनस्वास्थ्य निरिक्षक शुरेश गैरे र विश्व मा.वि.ढाकावाङ्गका शिक्षक उमानन्द बन्जाडे लगायतले सुझाव मुलक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले पर्यटनको व्यवसायिक विकासको निम्ती तिनवटै तहका सरकार तथा सरोकारवाला सबैको समन्वय हुनुपर्ने, पर्यटनले खर्च गर्न पाउनेगरि भौतिक तथा सांस्कृतिक संरचनागत विकास गर्नुपर्ने,आर्थिक उपार्जनका अन्य क्षेत्रहरुको विकास हुनुपर्ने,पर्यटकिय क्षेत्र,कला,भाषा र संस्कृति चिनाउने बिषयबस्तु पाठ्यक्रममा समावेश गरिनुपर्ने,स्थानिय खानाको व्यवस्था हुनुपर्ने लगायतका सुझाव दिनुभएको छ । कार्यक्रममा भुमिकास्थान नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, १२ वटै मा.वि.का प्रधानध्यापक, पत्रकार र अन्य सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो ।
कृषि,पर्यटन र उद्योग नै अर्घाखाँचीको आर्थिक समृद्धिको मेरुदण्ड हुन्ः कोइराला
तपाईको प्रतिक्रिया