
लक्ष्मण घिमिरे ।
अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रालीले चाडबाडलाई मध्यनजर गरेर आफ्ना मातहतका व्यवसायीहरुलाई कडा निर्देशन जारी गरेको छ । दसै, तिहार लगायत पर्वमा यात्रुलाई सास्ती हुने कुनै क्रियाकलाप नगर्न तथा एक रुपैयाँ पनि तोकिएभन्दा बढी भाडा नलिन देउराली यातायातले निर्देशन गरेको हो ।
पत्रकारहरुसंग विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै देउराली यातायातले सो कुराको जानकारी दिएको हो । चाडबाडका बेला अत्याधिक भिडभाड हुने र त्यसको नाजायज फाईदा उठाउने गुनासो आउने गरेको भन्दै यात्रुलाई अपमान हुनेगरी कुनै क्रियाकलाप नगर्न तथा मापदण्ड विपरित शुल्क नलिन यातायात व्यवसायीहरु, चालक र सहचालकलाई कडा निर्देशन दिईएको प्रालीका अध्यक्ष गोविन्द बञ्जाडेले जानकारी दिए ।
यसका अलावा यात्रुलाई सास्ती नहोस् भनेर आवश्यक्ता अनुसार सवारी थप गर्ने उनले प्रतिबद्धता जनाएका छन् । काठमाण्डौ र बुटवलका लागी गाडीहरु थप गरिसकिएको भन्दै उनले मागको आधारमा अन्य सवारी थप गर्न सकिने बताए । ‘हामीले यात्रुको चापलाई मध्यनजर गरेर गाडीहरु थपेका छौं, उनले भने,‘आवश्यक्ता अनुसार अझै थप गर्छौं, कमी हुन दिने छैनौं ।’
यात्रुलाई सहज किसिमले यात्रा गर्ने व्यवस्था मिलाईएको प्रालीका आर्थिक संयोजक नारायण खड्काले जानकारी दिए । उनले कुनै किसिमको सास्ती खेप्नु परे वा अतिरिक्त शुल्क तिर्नु परे प्रालीलाई खबर गर्न आग्रह गरेका छन् ।

























