१० माघ, प्रेमनारायण आचार्य अर्घाखाँची। अर्घाखाँचीका औषधि पसलमा सिटामोल लगायतका अत्यावश्यक औषधिकाे अभाव नरहेको देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको संयोजकत्वमा आइतवार सन्धिखर्क नगरपालिका र चुत्राबेसी बजारका औषधि पसलमा अनुगमन गर्दा औषधिको भण्डारण आवश्यक मात्रामा भण्डारण गरिएको देखिएको हो ।
देशभर सिटामोल लगायतका औषधिकाे कमी भएको भन्ने गुनासो बढेपछि मेडिकल, फार्मेसी तथा पोलिक्लिनिकमा अनुगमन गरिएको र अनुगमनमा औषधि सकिएको अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । सिटामोल लगायतका औषधिकाे अभाव हुन नदिन औषधिको पर्याप्त भण्डारणमा ध्यान दिन औषधि व्यवसायीलाई आग्रहसमेत गरिएको उहाँकाे भनाइ छ ।
केही औषधि पसल मापदण्ड विपरीत सञ्चालन भएको देखिएको हुँदा कानुनी प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनुभयो ।
प्रजिअ, सहायक प्रजिअ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, घरेलु तथा साना उद्योग व्यवसायी समितिका प्रमुख, उद्योग अधिकृत, जिल्ला स्वास्थ्य कार्यालय, औषधि व्यवसायी समिति, नेपाल पत्रकार महासङ्घका प्रदेश सदस्यलगायतको टोलीले औषधि पसलकाे अनुगमन गरेको हो ।