४ चैत्र २०८१, सोमवार
४ चैत्र २०८१, सोमवार

कांग्रेसको नयाँ नेतृत्वका लागि आज मतदान

Workplace

काठमाण्डाै – नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो । बिहान आठ बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र स्थापना गरिएको छ । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।

भृकुटीमण्डपको हलमा प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चुनावमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारेमा छलफल भए पनि कागजको मतपत्रमा नै मतदान गर्नुपर्दा एक जनालाई मतदान गर्न झण्डै एक घण्टा लाग्ने अनुमान रहेको निर्वाचन समितिले जनाएको छ । महाधिवेशनमा चार हजार ७ सय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।

सभापतिमा ५ जना, उपसभापति पदमा ७ जना तथा महामन्त्रीमा ६ जनाको उम्मेदवारी दर्ता भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसैगरी, आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै