
- बाँकेमा सेवाग्राहीसँग घुस लिएको भिडियो सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्।
- निलम्बित हुनेमा प्रहरी जवान श्रीषराम थारु र तोपबहादुर खड्का रहेको प्रहरीले जनाएको छ।
- उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालयले जानकारी दिएको छ।
काठमाण्डौ – सेवाग्राहीसँग घुस लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन् ।
निलम्बनमा पर्नेहरूमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहतको अस्थायी ट्राफिक प्रहरी पोष्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारु र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत प्रहरी जवान तोपबहादुर खड्का रहेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले उनीहरूलाई निलम्बन गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ । उनीहरूले ड्युटीमा खटिएका बेला सेवाग्राहीसँग रकम लिएको भिडियो अस्ति बिहीवार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उनीहरुलाई हिजो शुक्रवारदेखि लागू हुने गरी निलम्बन गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिनुभयो । उनीहरुमाथि थप छानबिन तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


























