
- जनकपुर-अयोध्या रेल सेवाको लागि टिकट बुकिङ खुला गरिएको छ।
- रेलको भाडा न्यूनतम ५८४ देखि अधिकतम २ हजार १७६ रुपैयाँ कायम भएको छ।
- यो रेल हरेक शनिबार जनकपुरबाट छुट्ने र सोमबार अयोध्याबाट फर्किनेछ।
काठमाण्डौ – जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेलको टिकट बुकिङ खुला भएको छ ।
रेलको भाडादर न्यूनतम ५८४ रुपैयाँदेखि २ हजार १७६ रुपैयाँ तोकिएको छ । भारतीय रेल्वेले भोलिदेखि व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारीसहित टिकट बुकिङ खुला गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको सोमवार सेवा शुभारम्भ गर्नुभएको थियो । हप्तामा एक दिन सञ्चालन हुने रेल हरेक शनिवार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमवार अयोध्याबाट जनकपुरधाम फर्किनेछ ।
झण्डै ६०४ किलोमिटर दूरी तय गर्ने रेलले नेपालका साथै भारतको बिहार र उत्तर प्रदेशका विभिन्न क्षेत्रलाई जोड्नेछ । भारतीय रेल्वेले निर्धारण गरेको भाडादरअनुसार शयनयान (स्लिपर) श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ अर्थात् नेपाली ५८४ रुपैयाँ पर्नेछ ।
त्यस्तै, इकोनोमी श्रेणीको भाडा ८८५ भारतीय रुपैयाँ, तृतीय श्रेणीको ९६५ रुपैयाँ र द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ तोकिएको छ । नेपाल रेल्वे कम्पनीका अनुसार नेपाली यात्रुले भारतीय रुपैयाँमा निर्धारण गरिएको भाडा बराबरको रकम नेपाली रुपैयाँमा तिर्नुपर्नेछ ।
उत्तर प्रदेशका मनकापुर, बस्ती र गोरखपुर तथा बिहारका नरकटियागञ्ज, रक्सौल, सीतामढी, शीशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ । यात्रुहरूले भारतीय रेल्वेको आईआरसीटीसी वेबसाइट तथा मोबाइल एप, आधिकारिक अनलाइन टिकटिङ एजेन्ट र नेपालका अधिकृत सेवा एजेन्टमार्फत टिकट बुकिङ गर्न सक्नेछन् ।
यात्राका क्रममा यात्रुले आफ्नो नागरिकता वा मान्य परिचयपत्र साथमा राख्नुपर्नेछ । रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै रामायण सर्किटलाई थप विस्तार गर्ने अपेक्षा छ ।


























