
- अर्घाखाँचीको भूमिकास्थानमा जारी खुला क्रिकेट प्रतियोगिताको आज पाँचौँ दिन तीनवटा रोमाञ्चक खेलहरू हुँदैछन्।
- विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने व्यवस्था गरिएको छ।
- स्थानीय युवाको सक्रियतामा सञ्चालित यस प्रतियोगिताले खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुर्याउने विश्वास लिइएको छ।
हृदय भुसाल अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज पाँचौँ दिन विभिन्न टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने भएको छ।
आजको पहिलो खेल देबीनगर क्रिकेट क्लब र सितगंगा युवा क्लबबीच हुनेछ भने दोस्रो खेल मालारानी र रुपाकोट गुल्मीबीच प्रतिस्पर्धा हुने आयोजक लिलबहादुर जिसीले जानकारी दिनुभयो। त्यस्तै, अर्को खेल आयोजक टोली र माछापुच्छ्रेबीच हुने कार्यक्रम रहेको छ।
प्रतियोगिताको पहिलो चरणबाट विजयी भएका टोलीहरूबीच आज प्रतिस्पर्धा हुन लागेको खेल संयोजक सुरज पन्थीले बताउनुभयो। उहाँका अनुसार प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ।
प्रतियोगितालाई विभिन्न क्षेत्रबाट आर्थिक तथा अन्य सहयोग प्राप्त भइरहेको भन्दै खेल आर्थिक संयोजक ऋषिकेश आलेले खुसी व्यक्त गर्नुभयो। सबै क्षेत्रबाट प्राप्त सहयोगले आयोजकलाई थप उत्साह र हौसला मिलेको उहाँको भनाइ छ।
आजका खेलहरू निकै रोमाञ्चक हुने अपेक्षा गरिएको भन्दै मुनलाइट युवा क्लबका अध्यक्ष सन्दीप गैरेले खेल अवलोकन गर्न सम्पूर्ण खेलप्रेमी दर्शकहरूलाई विशेष आग्रह गर्नुभएको छ।
यस प्रतियोगिताले धन्चौरको खेलकुद क्षेत्रमा छुट्टै उत्साह र उमंग थपेको धन्चौर युवा समाजका अरुण घमले बताउनुभयो। उहाँले स्थानीय युवाहरूको खेलप्रतिको रुचि र सक्रियता बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।
मुनलाइट युवा क्लब र धन्चौर युवा समाजको सहकार्यमा आयोजित प्रतियोगितामा विजेता टोलीलाई नगद एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सुदन पाण्डेले जानकारी दिनुभयो।
प्रतियोगिताले खेलकुदको विकाससँगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने आयोजक कैलाश गैरेको भनाइ छ। खेलकुदका माध्यमबाट स्थानीय युवाहरूमा लुकेर रहेका प्रतिभा उजागर हुनुका साथै धन्चौर क्षेत्रको पहिचान स्थापित गर्न पनि सहयोग पुग्ने उहाँले बताउनुभयो।
स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन भइरहेको यस प्रतियोगिताले धन्चौरमा खेलकुदप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा खेल पर्यटनको सम्भावनासमेत उजागर गरेको छ। खेल बिहान बाट नै सुरु हुने आयोजकले बताएका छन् ।


























