
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आज हल्कादेखि मध्यम वर्षा हुनेछ।
- अन्य केही प्रदेशका पहाडी भू-भागमा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना छ।
- आजदेखि वर्षाको क्रम घट्दै जाने भएकाले ठूलो पानी पर्ने सम्भावना छैन।
काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार यी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ । त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी एक/दुई ठाउँमा पनि पानी पर्नेछ ।
आज दिउँसो कोशी प्रदेशका सबै भागमा बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । हिजो/अस्तिको जस्तो पानी पर्ने सम्भावना नरहेको र पानी पर्नेक्रम आजदेखि क्रमशः घट्दै जाने महाशाखाका मौमसविद् निष्ठा निरौलाले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।
आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायमै छ ।
आज बिहान बागमती र मधेश प्रदेशका केही ठाउँ तथा कोशीका थोरै ठाउँमा पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो ।


























