मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।
गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।