
- विमानबाट निस्कने बादल जस्तो धर्काले हुने जलवायु प्रभाव घटाउन एआई प्रविधिको ठूलो स्तरमा परीक्षण सुरु गरिएको छ।
- एआईले विमानको उडान मार्गमा सामान्य परिवर्तन गरी यस्तो बादल बन्ने जोखिमयुक्त क्षेत्रलाई पन्छाउनेछ।
- यो प्रविधि सफल भएमा उड्डयन क्षेत्रको वातावरणीय प्रभाव कम गर्न सस्तो र व्यावहारिक उपाय फेला पर्नेछ।
विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलोस्तरमा परीक्षण शुरु भएको छ ।
बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, मेट अफिसलगायतका संस्थाको सहकार्यमा अघि बढाइएको ‘अपरेसन ब्लु स्काइज’ कार्यक्रमले वास्तविक हवाई यातायातमै यसको प्रभावकारिता र सुरक्षा परीक्षण गर्नेछ ।
एआईले मौसम, तापक्रम, आर्द्रता र उपग्रहका तस्बिर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ । त्यसपछि त्यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइनेछ ।
यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो ।
नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ । परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ ।
वैज्ञानिकहरूका अनुसार यसले उड्डयन क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्न सक्ने अपेक्षा गरिएको छ ।


























