
- बर्डफ्लुको प्रभाव कम भई माग बढेपछि अण्डाको मूल्यमा वृद्धि भएको छ।
- अण्डाको प्रतिक्रेट मूल्यमा ५० रुपैयाँले वृद्धि गरिएको संघले जनाएको छ।
- लागत मूल्यभन्दा कम भाउ पाएको भन्दै किसानले सरकारी राहतको माग गरेका छन्।
काठमाण्डौ – ‘बर्डफ्लु’ सङ्क्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाउ फेरि बढ्न थालेको छ ।
विगतमा उत्पादन घटेको र अहिले माग बढ्न थालेसँगै मूल्य बढ्न थालेको नेपाल लेयर्स कुखुरा पालक सङ्घले जनाएको छ । सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ । सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रतिक्रेट (३० वटा) मा ५० रुपैयाँ भाउ बढाएको छ ।
अब ठूलो अण्डा प्रतिक्रेट ४५० बाट बढेर ५०० रुपैयाँ पुगेको छ । त्यस्तै मध्यम अण्डा ४२० बाट ४७० पुगेको छ । सानो अण्डामा पनि भाउ बढेको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताउनुभयो ।
नेपालमा दैनिक झण्डै ४५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ । जेठको अन्तिममा एक क्रेट अण्डाको ५५० रुपैयाँमा बिक्री भएकोमा भाउ घटेको थियो । एक क्रेट अण्डाको लागत मूल्य नै ५७३ रुपैयाँ ६० पैसा पर्न आउने सङ्घको दाबी छ ।
यसअनुसार प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । भाउ बढे पनि अझै लागतअनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ । अध्यक्ष पोखरेलले बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनुभएको छ ।


























