
- गएराति उपत्यकासहित देशभर हल्कादेखि मध्यम वर्षा भएको छ।
- आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ।
- राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भागमा ठूलो वर्षा हुन सक्छ।
काठमाण्डौ — गएराति काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा भेलबाढी नै बग्ने गरी पानी परेको छ ।
आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।


























