
- अर्घाखाँचीको भूमिकास्थानमा गत वर्ष रोपिएका सिन्कौलीका बिरुवाहरूको गोडमेल र सरसफाइ गरिएको छ।
- सामुदायिक वनका उपभोक्ताहरूले बिरुवाको संरक्षण र संवर्धनमा सक्रिय सहभागिता जनाएका छन्।
- बिरुवाको राम्रो विकास र वनलाई हराभरा बनाउन यस्ता संरक्षणमूलक अभियानलाई निरन्तरता दिने निर्णय भएको छ।
हृदय भुसाल अर्घाखाँची। – भूमिकास्थान नगरपालिका–१० धन्चौर आरिचौर वनमा गत वर्ष रोपिएका सिन्कौलीका बिरुवाको सरसफाइ तथा उकेरा (गोडमेल) गर्ने कार्य सम्पन्न गरिएको छ।
सामुदायिक वन उपभोक्ता समिति र स्थानीय उपभोक्ताको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रममा बिरुवाको वरिपरि उम्रिएका झारपात हटाउने, उकेरा दिने तथा संरक्षणका आवश्यक कार्यहरू गरिएको थियो। नियमित हेरचाहले बिरुवाको वृद्धि राम्रो हुने, वन क्षेत्र हराभरा बन्ने तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।
स्थानीय कृष्णप्रसाद गैरेले बिरुवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण र नियमित हेरचाह गर्न सकेमात्र वन संरक्षण अभियान सफल हुने बताए। सामुदायिक वनको संरक्षणमा सबै उपभोक्ताको समान दायित्व र सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।
स्थानीय बबिता श्रेष्ठले वन संरक्षणमा समुदायको साझा प्रयास अपरिहार्य रहेको बताउँदै यस्ता अभियानले वातावरण संरक्षणप्रति सबैमा सकारात्मक सोचको विकास हुने बताइन्। उनले आगामी दिनमा पनि यस्ता संरक्षणमूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
स्थानीय हिरा जिसीले सामुदायिक वनमा रोपिएका बिरुवाको संरक्षणका लागि नियमित सरसफाइ र उकेरा आवश्यक हुने बताउँदै सबै उपभोक्ताले वनलाई आफ्नै सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरिन्।
आरिचौर देउल खमारी सामुदायिक वनका अध्यक्ष गुन बहादुर घर्तीले वन संरक्षण केवल समिति वा केही व्यक्तिको जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको बताए। गत वर्ष रोपिएका सिन्कौलीका बिरुवालाई हुर्काउने उद्देश्यले सरसफाइ तथा उकेरा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता संरक्षणमूलक कार्यक्रमलाई निरन्तरता दिइने र सामुदायिक वनलाई हराभरा तथा समृद्ध बनाउन सबै उपभोक्ताको साथ आवश्यक रहने बताए।
कार्यक्रममा सहभागीहरूले सामुदायिक वनको संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि यस्ता अभियानलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।



























