
- देशका विभिन्न ठाउँमा आज र भोलि मेघ गर्जनसहित ठूलो वर्षाको सम्भावना छ।
- बाढी पहिरो तथा डुबानको जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ।
- आपत्कालीन अवस्थामा ११५५, ११४९, १०० वा १११४ मा फोन गर्न सूचित गरिएको छ।
काठमाण्डौ – आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ ।
थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढी सावधानी अपनाउन अनुरोध गरेको छ ।
प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ । प्राधिकरणले वर्षा र बाढीबारे जानकारी लिन ११५५, विपदमा मद्दत माग्न ११४९, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ ।
यसपालि नेपालमा मनसुन जुन १९ तारिख अर्थात् असार ५ गते भित्रिएको हो । तर अझैसम्म पुरै देशभर फैलिएको छैन । औसत मितिभन्दा ६ दिनपछि भित्रिएको मनसुन प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन् ।
मनसुन बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठुलो वर्षासँगै कतैकतै अचानक बाढी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ ।
अकस्मात् बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

























