
- आजदेखि पर्सिसम्म देशका विभिन्न स्थानमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ।
- कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नदी तथा खोलामा पानीको बहाव बढ्ने अनुमान छ।
- नदी तटीय क्षेत्रका बासिन्दा तथा नदी किनारमा काम गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ।
काठमाण्डौ — आजदेखि पर्सिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ भन्दा बढी जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ ।
झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, गोरखा, लमजुङ, चितवन, कास्की, पाल्पा, स्याङ्जा, नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट, रुकुम पश्चिम, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा र अछाम लगायत जिल्लाका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ ।
साथै मधेश प्रदेशका बागमती नदी प्रणालीसँग जोडिएका नदी तथा खोलामा पनि बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार पर्सिसम्म कोशी र नारायणी नदी प्रणालीका अधिकांश सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको छ ।
तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, बुढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कन्काई, बागमती, बबई तथा पश्चिम राप्ती नदीमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने अनुमान छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स–साना नदी तथा खोलामा आकस्मिक रूपमा बहाव बढ्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही नदी तथा खोलामा पनि पानीको बहाव बढ्ने देखिएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले नदी किनारमा बसोबास गर्ने, माछा मार्ने, नदी तर्ने, खोल्सामा आवतजावत गर्ने तथा नदी आसपास निर्माण कार्यमा संलग्न व्यक्तिलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

























