
- मनसुन भित्रिए पनि सक्रिय हुन नसक्दा देशभर औसतभन्दा कम वर्षा भएको छ।
- वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै गर्मी र तातो हावा बढेको छ।
- मनसुन अझै देशभर फैलिन सकेको छैन तर केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।
काठमाण्डौ – मनसुन भित्रिएको एक हप्ताभन्दा बढी भइसक्दा पनि अझै सक्रिय हुन सकेको छैन । राम्रोसँग पानी नपर्दा गर्मी बढेको छ ।
धान रोपाइँले पनि गति लिन सकेको छैन । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार जुन १ देखि २५ तारिख अर्थात अस्ति ११ गतेसम्म देशभर औसत १४९ मिलिमिटर वर्षा मापन भएको छ, जुन यस अवधिको औसत वर्षा २१४ मिलिमिटरको ६९.६ प्रतिशत हो ।
दैनिक औसतको ९० प्रतिशतभन्दा कम वर्षा मापन भएको विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार विशेष गरी महिनाको शुरुआती दिनहरूमा वर्षा अत्यन्त न्यून रह्यो भने पछिल्ला दिनहरूमा केही सुधार देखिए पनि सामान्य अवस्थासम्म पुग्न सकेको छैन ।
मौसमविद्का अनुसार यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर सक्रियतामा रहेकाले वर्षामा कमी देखिएको हो । कमजोर मनसुनका कारण कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
देशभर मनसुन विस्तार हुन सकेको छैन । कोशीदेखि लुम्बिनीसम्मका केही भूभागमा मात्रै विस्तार भएको मनसुनी प्रणाली अझै कमजोर अवस्थामै रहेकाले देशका बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्न सक्ने मौसमविदको अनुमान छ ।
गएराति पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँमा पानी परेको छ । आज दिउँसो कोशी प्रदेशका तराई भेग तथा मधेश प्रदेशका थोरै ठाउँमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक, दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै ठाउँहरूमा तातो लहर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

























