
- भूमिकास्थान नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले मकैको खोस्टाबाट सामग्री बनाउने ३० दिने हस्तकला तालिम सम्पन्न गरेको छ।
- तालिममा सहभागीहरूलाई मकैको खोस्टा खेर नफाली विभिन्न उपयोगी सामग्री निर्माण गर्ने सीप सिकाइएको छ।
- नगर प्रमुखलगायतका पदाधिकारीले सिकेको सीपलाई आयआर्जनसँग जोडी उद्यमशील बन्न महिलाहरूलाई प्रोत्साहन गरेका छन्।
हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा महिलाहरूको सीप विकास तथा आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको ३० दिने हस्तकला तालिम सम्पन्न भएको छ। भूमिकास्थान नगरपालिकाको आयोजना तथा ओम राष्ट्रिय मल्टी एग्रो प्रा.लि., काठमाडौंको प्राविधिक सहयोगमा महिलाहरूका लागि मकैको खोस्टाबाट विभिन्न हस्तकलाका सामग्री उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको हो।
जेठ ५ गतेदेखि असार ३ गतेसम्म सञ्चालन भएको उक्त तालिममा भूमिकास्थान नगरपालिका–१० का महिलाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिम समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
नगर प्रमुख प्रमुख झविलाल थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम प्रभावकारी माध्यम भएको बताउँदै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागू गरी आयआर्जनसँग जोड्न आग्रह गरे। नगरपालिकाले महिलाको आर्थिक उन्नतिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने उनको भनाइ थियो।
उपप्रमुख बालकृष्ण बजाँडेले स्थानीय स्रोत र साधनको उपयोग गर्दै महिलाहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराउन यस्ता तालिम महत्वपूर्ण रहेको बताए। उनले तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै स्वरोजगार सिर्जनामा टेवा पुग्ने विश्वास व्यक्त गरे।
भूमिकास्थान नगरपालिका–१० का वडा अध्यक्ष खगेश्वर पन्थीले महिलाहरूलाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएका यस्ता तालिमहरू निकै प्रभावकारी रहेको बताए। उनले स्थानीय स्तरमा सहजै उपलब्ध हुने मकैको खोस्टाजस्ता सामग्रीको उपयोग गरेर समेत आयआर्जन गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। सीप र उद्यमशीलताको विकासमार्फत महिलाहरूको आर्थिक अवस्था सुधार गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले तालिममा प्राप्त सीपलाई उत्पादन तथा व्यवसायसँग जोड्न सके स्थानीय स्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने बताए। नगरपालिकाले सीप विकास र उद्यम प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको उनको भनाइ थियो।
प्रमुख प्रशिक्षक सुसिला मगरले तालिमका क्रममा सहभागीहरूले मकैको खोस्टाबाट विभिन्न सजावटी तथा प्रयोगात्मक सामग्री निर्माण गर्ने सीप हासिल गरेको जानकारी दिइन्। उनले सिकेको सीपलाई व्यवसायिक रूपमा विस्तार गर्न सके महिलाहरूको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आउन सक्ने बताइन्।
तालिममा सहभागी बबिता श्रेष्ठले तालिमबाट नयाँ ज्ञान र व्यावहारिक सीप हासिल गर्न पाएको बताइन्। “पहिले मकैको खोस्टा त्यत्तिकै खेर जाने गरेको थियो, तर अहिले त्यसैलाई उपयोग गरेर आकर्षक हस्तकलाका सामग्री बनाउन सकिने रहेछ भन्ने सिक्यौं,” उनले भनिन्। तालिमबाट प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी आम्दानीको स्रोत बनाउने योजना रहेको उनको भनाइ थियो।
सहभागी महिलाहरूले यस्ता सीपमूलक तालिमले आत्मनिर्भर बन्न प्रेरणा मिलेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न नगरपालिकासँग आग्रह गरेका छन्। स्थानीय महिलाहरूको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास तथा आर्थिक सशक्तीकरणमा यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।


























