
- अर्घाखाँचीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित कृषि तथा पशुपन्छी उद्यमहरूको स्थलगत अनुगमन गरिएको छ।
- जिल्लाका सन्धिखर्क र पाणिनीमा सञ्चालित विभिन्न अनुदान कार्यक्रमहरूको प्रभावकारिता र प्रगतिको टोलीले समीक्षा गरेको छ।
- सरकारी अनुदानको सही सदुपयोग गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन र रोजगारी सिर्जना गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।
हृदय भुसाल अर्घाखाँची राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रमहरूको शुक्रबार स्थलगत अनुगमन गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीको आयोजनामा कार्यक्रम कार्यान्वयन, समन्वय तथा अनुगमन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला र प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी को उपस्थितिमा सन्धिखर्क नगरपालिका र पाणिनी गाउँपालिकामा सञ्चालित अनुदान कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको हो।
अनुगमन टोलीमा जिल्ला समन्वय अधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख, सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम तथा बजेट अनुसार सञ्चालन भएका प्रतिनिधिमूलक कृषि उद्यमहरूको अवस्थाबारे जानकारी लिँदै टोलीले कार्यक्रमको प्रभावकारिता, उपलब्धि तथा चुनौतीहरूको समेत समीक्षा गरेको थियो।
अनुगमनका क्रममा सन्धिखर्क नगरपालिका–१ स्थित सीता अर्याल पन्थीद्वारा सञ्चालित पन्थी कुटानी, पिसानी तथा पेलानी मिलमा तोरी तेल पेलानी तथा प्रशोधन कार्यक्रम, सन्धिखर्क–२ स्थित केसी फ्रेस हाउसमा स्वच्छ मासु पसल स्थापना कार्यक्रम, आश्चर्य गाईपालन तथा कृषि फर्ममा व्यावसायिक तरकारी खेती कार्यक्रम, सन्धिखर्क–१० स्थित भट्टराई कृषि फर्ममा स्थायी प्लास्टिक घर निर्माण कार्यक्रम, पाणिनी गाउँपालिका–३ स्थित तिल्केनी कृषि तथा पशुपन्छी फर्ममा व्यावसायिक माछापोखरी निर्माण तथा आलमदेवी महिला बहुउद्देश्यीय सहकारी संस्थामा अदुवा–बेसार प्रशोधन उपकरण सहयोग कार्यक्रमको अनुगमन गरिएको थियो।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कृषि क्षेत्रमा सरकारी लगानीको प्रतिफल सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको बताए। उनले अनुदानका कार्यक्रमहरू वास्तविक कृषक र उद्यमीसम्म पुगेर उत्पादन तथा रोजगारी वृद्धि गर्न सफल भएको उल्लेख गर्दै प्राप्त सहयोगको सही सदुपयोग गरी कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न आग्रह गरे।
कार्यालय प्रमुख विष्णु मग्रातीले कृषि आधुनिकीकरण कार्यक्रमले जिल्लामा व्यावसायिक कृषि प्रवर्द्धन, कृषि उद्यम विकास तथा कृषकको आयआर्जन वृद्धि गर्ने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले अनुदान प्राप्त कृषक तथा संस्थाहरूले कार्यक्रमको उद्देश्यअनुसार उत्पादन र व्यवसाय विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिए। साथै आगामी दिनमा पनि प्रभावकारी अनुगमन, प्राविधिक सहयोग र समन्वयलाई निरन्तरता दिइने जानकारी दिए।
अनुगमन टोलीले अधिकांश कार्यक्रमहरू सन्तोषजनक रूपमा सञ्चालन भइरहेको पाएको जनाउँदै कृषि उत्पादन वृद्धि, मूल्य अभिवृद्धि तथा स्थानीय स्तरमा रोजगारी सिर्जनामा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्याएको निष्कर्ष निकालेको छ।


























