
- सुनछहरी गाउँपालिकामा सञ्चालित जीविकोपार्जन तथा उद्यमशीलता कार्यक्रमको स्थलगत अनुगमन गरिएको छ।
- गाउँपालिका अध्यक्षसहितको टोलीले वितरण गरिएका बाख्रा र कृषि सामग्रीको प्रभावकारिता बुझेका छन्।
- परियोजनाले कृषकको आयआर्जन बढाएको भन्दै आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ।
हृदय भुसाल बुटवल । सुनछहरी गाउँपालिकामा हेफर इन्टरनेशनल परियोजना,सहिद परिवार समाज नेपाल र सुनछ्हरी गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेका विभिन्न जीविकोपार्जन तथा उद्यम विकास कार्यक्रमहरूको अनुगमन गरिएको छ।
अनुगमनका क्रममा परियोजनामार्फत कृषक तथा समूहका सदस्यहरूलाई वितरण गरिएका बाख्रा, बाख्राको खोर, घाँसका बिरुवा, टिमुर, ओखर लगायतका कार्यक्रमको स्थलगत निरीक्षण गरिएको थियो। साथै, लाभग्राहीहरूको अवस्था, कार्यक्रमको प्रभावकारिता तथा वितरण गरिएका सामग्रीहरूको उपयोगिताबारे समेत जानकारी लिइएको थियो।
अनुगमन टोलीको नेतृत्व सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले गर्नुभएको थियो। टोलीमा वडा अध्यक्ष कृष्ण घर्ती, उदवीर घर्ती, कार्यपालिका सदस्य मनबहादुर विक, सहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्का, परियोजना प्रमुख काशीराम शर्मा, वडा सदस्यहरू, समूहका अध्यक्ष, सचिव तथा सदस्यहरू, परियोजनाकी कर्मचारी राधा घर्ती लगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष धनबहादुर पुनले परियोजनाले स्थानीय कृषकहरूको आयआर्जन वृद्धि, उद्यमशीलता विकास तथा आर्थिक सशक्तीकरणमा सकारात्मक योगदान पुर्याएको बताउनुभयो। उहाँले प्राप्त सहयोगको अधिकतम सदुपयोग गरी उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ अग्रसर हुन लाभग्राहीहरूलाई आग्रह गर्नुभयो।
सहिद परिवार समाज नेपालका अध्यक्ष विशाल खड्काले परियोजनाको मुख्य उद्देश्य ग्रामीण समुदायको जीवनस्तर सुधार गर्नु रहेको बताउँदै कार्यक्रमबाट प्राप्त उपलब्धिलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
अनुगमन टोलीले लाभग्राही कृषकहरूसँग प्रत्यक्ष छलफल गर्दै कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका उपलब्धि, समस्या तथा सुधार गर्नुपर्ने पक्षबारे सुझाव संकलन गरेको थियो। सहभागीहरूले बाख्रापालन तथा बहुवर्षीय बाली प्रवर्द्धन कार्यक्रमले आयआर्जनमा सकारात्मक प्रभाव पारेको बताएका थिए।
अनुगमनपछि परियोजनाबाट सञ्चालित कार्यक्रमहरूलाई थप प्रभावकारी, दिगो र परिणाममुखी बनाउन आवश्यक समन्वय र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो।


























