
- अर्घाखाँचीका समाजसेवी मनिराम पाण्डेले आफ्नो जन्मदिनको अवसरमा निर्मल नवज्योति सुस्त मनस्थिति विद्यालयका विद्यार्थीहरूलाई भोजन गराउनुका साथै नगद सहयोग गर्नुभयो।
- आफ्ना छोरा नवीनको सम्झनामा उक्त सहयोग गरिएको र यसले विद्यार्थीहरूमा ठूलो उत्साह तथा हौसला थपेको विद्यालयले जनाएको छ।
- कार्यक्रममा प्रधानाध्यापक कमला भुसालले बौद्धिक अपांगता भएका बालबालिकाको हेरचाह र राज्यको दायित्वका बारेमा गम्भीर धारणा राख्नुभयो।
हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१० धनचौर निवासी समाजसेवी तथा सामाजिक व्यक्तित्व मनिराम पान्डे ले आफ्नो जन्मदिनको अवसरमा निर्मल नवज्योति सुस्त मनस्थिति बिधालय सन्धिखर्क मा अध्ययनरत बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई भोजन गराउनुका साथै नगद सहित सम्मान कार्यक्रम सम्पन्न गर्नु भएको छ।
वि.सं. २०४८ सालमा स्थापना गरिएको उक्त विद्यालयले बौद्धिक तथा सुस्त मनस्थिति भएका बालबालिकाको शिक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
हाल उक्त विद्यालयमा २५ जना विद्यार्थी अध्ययनरत रहेका छन्, जसमा १२ जना छात्रा र १३ जना छात्र रहेका छन्। बिधालयमा अर्घाखाँची जिल्लासहित कपिलवस्तु, प्युठान, गुल्मी तथा रुपन्देही जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययनका लागि आउने गरेका छन्। विद्यालयमा विभिन्न प्रकारका बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत छन्।
कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला भुसाल ले आफू वि.सं. २०६० सालदेखि उक्त विद्यालयमा सेवा गर्दै आएको बताउँदै अनेक संघर्षका बीच विद्यालयलाई आजको अवस्थामा ल्याउन सफल भएको उल्लेख गर्नु भयो। भावुक हुँदै प्रधानाध्यापक भुसालले बौद्धिक अपांगता भएका व्यक्तिहरुको जिम्मेवारी राज्यले नै लिनुपर्ने बताउँदै उनीहरूले भोग्नुपरेका अनेक पीडादायी समस्या तथा चुनौतीहरूबारे धारणा राख्नु भएको थियो । साथै उक्त सहयोगका लागी प्रधानध्यापक भुसालले मनिराम पान्डे र रिता पान्डेलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
मनिराम पान्डेका छोरा नवीन पान्डे केही वर्ष उक्त विद्यालयमा अध्ययनरत थिए। बौद्धिक अपांगता भएका नवीन पान्डेको सम्झनामा मनिराम पान्डे र उहाँकि जिबनसाथी रिता पान्डेले विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई भोजन गराउनुका साथै नगद सहित सम्मान गर्नु भएको हो।
सोही अबसरमा बोल्दै मनिराम पान्डे र रिता पान्डे ले अपांगता भएका बालबालिकाहरू पीडा र समस्याहरु बारे धेरै जानकार रहेको भन्दै उनिहरु सँग समय बिताउन, सहयोग गर्न र सँगै रमाउन पाउँदा आफूहरूलाई अत्यन्त खुसी लागेको बताउनु भयो।
उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक कमला भुसाल, पत्रकार हृदय भुसाल तथा गोपाल भट्टराई लगायतको उपस्थिति रहेको थियो। विद्यालय परिवारले यस्ता मानवीय तथा सामाजिक कार्यले विद्यार्थीहरूमा थप उत्साह र हौसला मिलेको जनाएको छ।


























