
- आज कोशी र मधेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।
- राति र भोलि देशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको पूर्वानुमान छ।
- मौसम परिवर्तनशील भएकाले चट्याङ र वर्षाबाट सुरक्षित रहन महाशाखाको आग्रह छ।
काठमाण्डौ – आज दिउँसो मुख्यगरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेश प्रदेशका थोरै ठाउँ र तराईका एक/दुई ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै रातिको समयमा कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेशका एक, दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै भोलि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही ठाउँहरूमा तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातका साथै तराई भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा यतिबेला भने घाम लागिसकेको छ । प्रि–मनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

























