
- देशका पहाडी केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
- उच्च हिमाली भेगका थोरै स्थानमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- पश्चिमी र स्थानीय वायुको प्रभावले तराईमा बिहानीपख बादल लागेको छ।
काठमाण्डौ – आज देशका पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
आज मधेश प्रदेशबाहेक अरू प्रदेशको पहाडी थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भागको थोरै ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई क्षेत्रमा बिहान बादल लागेको छ ।
नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हिजो देशका विभिन्न जिल्लामा पानी परेको थियो । खोटाङ र उदयपुरमा ठूलो पानी परेको थियो भने महोत्तरी लगायतका क्षेत्रमा हावाहुरी चलेको थियो ।

























