तनहुँ – आँबुखैरेनी गाउँपालिकाले चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा प्रदान गरेको छ । वडा नम्बर ५ खोलागाउँका अमृत प्रजाले गाउँपालिकाको छात्रवृत्तिमा कक्षा १२ पास गर्नुभयो । उहाँलाई २०८१ सालमा आँबुखैरेनी रामशाह माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढ्नका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।
गाउँपालिकाले छात्रछात्रालाई खाना र बस्नका लागि मासिक पाँच हजार रुपैयाँ सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले बताउनुभयो । गाउँपालिकाभित्रका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूर्ण तहमा निःशुल्क शिक्षा उपलब्ध छ । रामशाह र मित्रता माविमा कक्षा पाँचसम्म पूर्ण निःशुल्क छ भने कक्षा छ देखि माथि नेपाली माध्यम निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क लिइन्छ ।
विद्यार्थी चेपाङको यस किसिमको उपलब्धि सम्पूर्ण चेपाङ समुदाय र गाउँपालिकाका लागि गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति प्रणालीलाई प्रभावकारी बनाउने उपाय र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजना बनाउने विषयमा विमर्श गरी अघि बढ्ने योजना रहेको अध्यक्ष चुमानले बताउनुभयो ।स्रोत उज्यालो

























