
- संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
- आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम पनि समितिबाट सर्वसम्मत स्वीकृत भएको छ।
- कार्कीले निर्वाचन प्रणालीमा सुधार गर्दै निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाई गर्दै सर्वसम्मतले उनको नाम अनुमोदन गरेको हो । साथै, बैठकले आयोगका प्रस्तावित आयुक्तहरू गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम पनि सर्वसम्मतले अनुमोदन गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
त्यसअघि बैठकमा संसदीय सुनुवाईका क्रममा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन प्रणाली सुधार गर्न सरकार र राजनीतिक दलको सहयोग जरुरी भएको बताए । उनले आफ्नो कार्यकालमा मतदाता संख्या बढाउने र बदर मतको संख्या घटाउने योजना सुनाए ।
त्यस्तै, कार्कीले निर्वाचनको कामलाई स्वच्छ, पारदर्शी र विश्वसनीय तरिकाले सम्पन्न आफूले पूर्णरूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा समिति सदस्यहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउने योजनाकाबारे जिज्ञासा राखेका थिए ।
समिति सदस्य कविन्द्र बुर्लाकोटीले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रभाकारी बनाउन र मतदातालाई प्रेरित गर्ने योजनाका बारेमा जानकारी माग गरेका थिए । उनले १६ वर्षको युवाहरुलाई पनि मतदानको अवसर दिनुपर्ने बताए ।
त्यस्तै, समिति सदस्य पद्मा अर्यालले आयोगको समग्र सुधारका योजनाका बारेमा चासो व्यक्त गरेकी थिइन् ।
त्यस्तै, समिति सदस्य वर्षमान पुनले दलहरुको आन्तरिक मामिलामा आयोगले हस्तक्षेप गर्दा आयोग नै बदनाम हुने गरेकाले निष्पक्ष भूमिका खेल्न सुझाव दिए ।
संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीसहित आयुक्तहरूमा वाग्ले र डा. सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।


























