
- कैलालीमा वन कार्यालयका कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो भाइरल भएपछि १२ जना पक्राउ परेका छन्।
- वन क्षेत्र अतिक्रमण गरेको भन्दै कर्मचारीले महिलाको टेम्पो जथाभावी धकेलेर खसालिदिएपछि घटनाको चौतर्फी विरोध भएको छ।
- कर्मचारीहरूले आफूहरूले बचाउ गर्ने प्रयास गरे पनि भिडियोमा उनीहरूले जानीबुझी टेम्पो धकेलेको प्रष्ट देखिएको छ।
काठमाण्डौ — कैलालीमा सडक किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसालेको घटना अनुसन्धानको लागि प्रहरीले वन कार्यालयका १२ जना कर्मचारीलाई पक्राउ गरेको छ । टेम्पो धकेलेर सडकबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारेमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरेको हो ।
वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावरीमा स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए । यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रुपमा हस्ताक्षर गरी आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए ।
अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरुको जिकिर छ । भिडिओमा भने टेम्पोलाई धकेल्दै भिरबाट खसालेको प्रष्ट देखिन्छ ।

























