
- अमेरिका र इरानबीच शान्ति सम्झौता हुने आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ।
- सम्झौताको सकारात्मक संकेतले एशियाली शेयर बजारमा सुधार आएको छ।
- दुई देशबीचको तनाव कम भएसँगै अवरुद्ध हर्मुज जलमार्ग खुल्ने अपेक्षा गरिएको छ।
अमेरिका र इरानबीच शान्ति सम्झौताको आशामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । इरान र अमेरिका–इजरायलबीचको युद्ध अन्त्य गर्ने सम्झौताको आशामा तेलको मूल्यमा तीव्र गिरावट आएको र एशियाली शेयर बजारहरू बढेका बीबीसीले जनाएको छ ।
अस्ति शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र विवरणहरू चाँडै घोषणा गरिने बताउनुभएको थियो । तर भोलिपल्टै उहाँले आफ्नो वार्ता टोलीलाई इरानसँगको सम्झौतामा हतार नगर्न आग्रह गर्नुभएको छ ।
आज एशियामा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुड ५.५ प्रतिशतले घटेर प्रतिब्यारेल ९७.९० अमेरिकी डलरसम्म झरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले पहिले नै ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः खोल्ने कुरा सम्झौतामा प्रमुख विषय रहने बताउनुभएको थियो ।
गएको फेब्रुअरी २८ मा इरान र अमेरिका–इजरायलबीच द्वन्द्व शुरू भएदेखि विश्वको २० प्रतिशत तेल र प्राकृतिक ग्यास ढुवानी हुने हर्मुजमा अवरोध छ ।
शान्ति सम्झौताको आशामा जापानको प्रमुख शेयर ‘निक्केई २२५’ सूचकाङ्क ३ प्रतिशतले बढेर पहिलो पटक ६५ हजार विन्दुमाथि उक्लिएको छ । आज सार्वजनिक बिदाका कारण बेलायत र अमेरिकाको ऊर्जा तथा वित्तीय बजार बन्द रहन्छ ।
इरानले अमेरिका र इजरायली आक्रमणको बदला लिन हर्मुज जलमार्ग प्रयोग गर्ने प्रयास गरिरहेका जहाजहरूमा आक्रमण गर्ने धम्की दिएपछि मार्चको शुरूदेखि नै विश्वव्यापी ऊर्जा बजारमा मूल्य उतारचढाव भइरहेको छ ।
अप्रिलको शुरूमा युद्धविराममा सहमति भएको थियो र त्यसबेलादेखि अमेरिका र इरानले दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ता गरिरहेका छन् ।

























