काठमाण्डाै – सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आउँदाे बिहीवार चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन बाेलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।
यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता पाेखरेलले जानकारी दिनुभयाे ।
प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।

























