
निम्बतरु
चैते बाँदर एक्लै हिँड्छ
रुखका हाँगाहरूबीच
हावाले नछुने एकान्त बोकेर
सायद ऊ भोकाएको छ—
पातहरू सुकिसके, फलहरू हराइसके,
जंगल आफैंले आफ्नो छाया खान थालेको बेला
ऊ एक्लै हुनु उसको बाध्यता हो
तर केवल भोक मात्र होइन,
भीड पनि कहिलेकाहीँ खतरा हुन्छ—
झुन्डले बाँड्ने भन्दा
लुकाउने धेरै हुन्छ
त्यसैले ऊ छुट्टिन्छ,
आफ्नो पेट जोगाउन
आफ्नो सास जोगाउन
चैते बाँदर एक्लै हिँड्छ
जोगी भएर होइन—
जोगिनका लागि
उ एकान्तको उपासक होइन,
परिस्थितिको निर्वासन हो
जहाँ साथ छुट्नु कुनै दर्शन होइन,
बाँच्नको सस्तो तरिका हो
र हामी—
मानिसहरू—
कहिलेकाहीँ उसैलाई जोगी ठान्छौं
तर ऊ त केवल
जीवनसँग हार नमान्ने
एउटा थाकेको जीव हो।

























