हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका नगर शिक्षा शाखा प्रमुख तुबलाल सापकोटा अनिवार्य अवकाशमा जानु भएसँगै उहाँको सम्मान तथा बिदाई कार्यक्रम विभिन्न चरणमा सम्पन्न भइरहेको छ।
यसै सन्दर्भमा भुमिकास्थान नगरपालिकामा क्रियाशील प्रमाणपत्रमा उल्लेखित ६ वटा शिक्षक संगठनले संयुक्त रूपमा बिहिवार सम्मान तथा बिदाई कार्यक्रम आयोजना गरी सापकोटाले शिक्षा क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदर गरेका छन्। कार्यक्रम भुमिकास्थान नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रममा नगर प्रमुख झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपाली, वडा अध्यक्ष गोपाल खनाल, सेवानिवृत्त राष्ट्रसेवक जिल्ला समिति अर्घाखाँचीका भिमलाल आचार्य, लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा पत्रकार हृदय भुसाल, अन्नपूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक सुवास बन्जाडे, नुवाकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक सालिकराम आचार्य लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख झबिलाल थापाले शिक्षा क्षेत्र नगरको समग्र विकासको आधार भएको उल्लेख गर्दै तुबलाल सापकोटाले आफ्नो सेवाकालमा शिक्षा प्रशासनलाई अनुशासित, पारदर्शी र प्रभावकारी बनाएको बताउनुभयो। उहाँले सापकोटाको इमान्दारिता, कार्यकुशलता र सेवाभावको उच्च प्रशंसा गर्दै अवकाशपछिको जीवन सफल, स्वस्थ र सम्मानित रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
उपप्रमुख बालकृष्ण बन्जाडेले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय कायम गर्दै शिक्षा सुधारमा सापकोटाले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले तुबलाल सापकोटा एक कर्तव्यनिष्ठ र जिम्मेवार राष्ट्रसेवक भएको बताउँदै शिक्षा शाखालाई व्यवस्थित र परिणाममुखी बनाउन उहाँले पुर्याएको योगदान प्रशंसनीय रहेको धारणा राख्नुभयो।
सम्मान तथा बिदाई हुने तुबलाल सापकोटाले आफ्नो भनाइ राख्दै सेवाकालभर साथ, सहयोग र विश्वास गर्ने जनप्रतिनिधि, कर्मचारी, शिक्षक संगठन तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले अवकाशपछि पनि शिक्षा र सामाजिक क्षेत्रको विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमको अध्यक्षता रुद्र खत्रीले गर्नुभएको थियो भने सञ्चालन चेत बहादुर थापा तथा स्वागत मन्तव्य बाबुराम नेपालीले राख्नु भएको थियो।
पालिकामा क्रियाशील शिक्षक संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूले संयुक्त हस्ताक्षरसहित सम्मानपत्र प्रदान गर्दै तुबलाल सापकोटाको दीर्घ, निष्ठावान र समर्पित सेवाको उच्च मूल्यांकन गरेका थिए।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो ।
नगर शिक्षा शाखा प्रमुख तुबलाल सापकोटालाई ६ शिक्षक संगठनद्वारा संयुक्त सम्मान तथा बिदाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























