हृदय भुसाल अर्घाखाँची ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आफ्ना नागरिक बिरामी परी रगत आवश्यक परेको अवस्थामा नि:शुल्क रूपमा रगत उपलब्ध गराउने व्यवस्था सुरु गर्ने भएको छ। यसका लागि आवश्यक रगत नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले उपलब्ध गराउने र त्यसको सम्पूर्ण व्ययभार नगरपालिकाले बेहोर्ने गरी बुधबार भैरहवामा सम्झौता भएको नगरपालिकाले जनाएको छ ।
आज नगरपालिकाको तर्फबाट नेपाल रेडक्रस सोसाइटी रुपन्देहीसँग औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि बोल्दै नगर प्रमुख झबिलाल थापाले आकस्मिक अवस्थामा रगत नपाएर नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको बताउनु भयो। उहाँले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले नगरपालिकाले यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले यो सम्झौताले आर्थिक अभावका कारण रगतको व्यवस्थामा समस्या भोग्दै आएका नगरवासीलाई ठूलो राहत पुग्ने बताउनु भयो। उहाँका अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नागरिकको जीवन रक्षा गर्ने उद्देश्यले आवश्यक बजेटको सुनिश्चितता गरेको छ।
नगरपालिकाको यो निर्णयले आपतकालीन अवस्थामा रगत आवश्यक पर्ने बिरामी तथा तिनका परिवारलाई सहजता हुने विश्वास लिएको भुमिकास्थान स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले बताउनु भयो । 

























