
निम्बतरु
म कुनैदिन
जँग बहादुरको घोडाको लिँड सोहर्दै थिएँ
आजका युवा सोहर्दै छन्
केही भारदारको देखाउटी र बेकार कुरा ।
त्यो जमानामा केही साथीहरु
कविको गोठमा गोठालाईँ गर्दै थिए
म भने बाँदर हेर्दै थिएँ
आफ्नै खेतबारीमा कट्कुरो बनाईउगरी ।
आज साथीहरु
पेसो फेरेर
भारदारको घरमा केरा हेर्दैछन्
उस् जुनि म
कमारो बसेको थें मुख्खेजिम्मालको घरमा
आज पनि उही हालतमा
परदेशतिर दास छु
भनेपछि
स्वभावगत दासत्वबाट मुक्त भएको छैन्
साङ्लो फुकालिएको जस्तो देखिएपनि
म कुनै न कुनै कठपुतलीवाला अदृश्य धागोमा
बन्दी छु
तोरीलाहुरेहरुका सँगतमा
आज पनि मन्दिरको घण्टा बजाएर बसेको छु
बरु लेकतिर भेडीगोठ राखी बसुँ
यो शहरको कोलाहलमा
अन्तरमनको हल्ला, प्रतिस्पर्धा,
स्वार्थ र ढोंगको आवाजमा
अरुको हली भएर जिउन कठिन छ
बरु
लखर लखर यत्तिकै गाउँमा हिडुँ
कम्तीमा के छ त भन्छन्
आज पनि तिर्लिङ तिर्लिङ घाँडो बजाएर हिँडेको छु
आजपनि म कमैया हुँ
मेरो नाममा फुटेको कौडी पनि छैन्
कतै न कतै मलाई समेत
कब्जा गरेको छ दलालले
म आजपनि चमर हल्लाएर नाचिरहेछु ।

























