२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

बाँगीखोलाको रोदन

निम्बतरु

पहाडको उराठलाग्दो डाँडाबाट बग्दै आउँछ बाँगी खोलो
साथमा ल्याउँछ मालारानीका फुलबुट्टा,
काँडे झारका बीउ र भीरका सुर्यास्तहरू
ऊ स्वतन्त्र छ, ऊ आफ्नै बाटो बनाउँछ
जहाँ पत्थर अड्किन्छ, त्यहाँ उसले गीत बनाउँछ,
जहाँ झरना खस्छ, त्यहाँ उसले स्वर निकाल्छ
तर जब ऊ फेदीको चुत्राबेसी बजारतिर आइपुग्छ
ऊ अब खोलो रहँदैन,
ऊ नाली बन्छ, गट्टर बन्छ, गन्ध बन्छ

ऊ जसरी माथि बगेको थियो,
अब त्यसरी बग्न सक्दैन
बाँगी खोलोको यो यात्रा हामी मानवहरूको जीवनजस्तै हो
पहाडको बाल्यावस्था स्वच्छ हुन्छ,
विचारहरू शुद्ध हुन्छन्,
तर बजार
त्यो चुत्राबेसी बजार
जसले हरेक स्वतन्त्र विचारलाई पेटिकोट ओढाइदिएको छ

त्यो त्रिवेणी संगम
कठो ! घाउ लिएर उभिएको छ
एकादशी मेलामा लुतो कन्याउँछ
बरा! थुम्काका मन्दिर
मान्छेको लीला देखेर
ऊ बर्बराउँछ

कुनदिन घेराको भीर फुटाउँछ
र निल्छ नदीको किनार
र टोक्छ बजार

एक पहिचान
तर तल चुत्राबेसी पुग्दा,
आफ्नो सान, स्वच्छता, मौलिकता सबै गुमाएर
बाँकी रहन्छ केवल नचाहिने प्रवाह,
जसको आवाज पनि
अब बजारको कोलाहलमा हराइसकेको हुन्छ

अझ बाँधेर उस्लाई
अझ उस्लाई कैद गरेर
लतारिरहेछ सन्धिखर्क
उस्को टाउकोमा
घरको उपल्लो झ्यालबाट फाल्छ थुक

र पनि, कहिलेकाहीँ वर्षा पर्छ
भीर फुट्छ, ढल बगाउँछ,
र बाँगी खोलो फेरि आफ्नो नाम फिर्ता लिन्छ
त्यो बेला बजारका मानिसहरू बिर्सन्छन्,
कि यो ढल होइन, यो त पहाडको रगत हो
त्यो खोलो फेरि बौलाउँछ,
गट्टर फुटाउँछ, बजार डुबाउँछ,
र घोषणा गर्छ
“म खोलो हुँ, म अझै बाँकी छु।”

ऊ बग्छ
तर त्यो बगाइ अब गीत होइन,
यो त समाजको आत्मगन्ध हो,
जो बग्दैछ चुत्राबेसी बजारका गल्लीहरूमा
भित्री कट्टु,मोजा र टिस्युपेपर

तर अझ पनि ऊ बग्छ,
किनकि बग्नु उसको धर्म हो
ऊ रोकिन्थी भने पहाड रोएर टुट्थ्यो
त्यसैले ऊ बग्छ
फोहरसहित,
ढलसहित,
तर कतै गहिराइमा अझै एक थोपो
स्वच्छता बाँकी छ

शायद त्यसै थोपोले कहिल्यै न कहिल्यै
बजारलाई बगाएर
फेरि खोलो बनाउनेछ
खुला, उज्यालो, र निर्दोष

बग्दैछ खोलो,
तर अब पानी होइन
हरेक घरको ढल
ढलसँग मानवमलमुत्र,पीप र डेढटिस्यु उनीहरुको प्रवृत्ति

बग्दैछ पाप,
बग्दैछ गुप्तरोग
बग्दैछ लादी र सिनो
बग्दैछ आवाज,
बग्दैछ शहरका अनुहार
उस्लाई चोबिएजस्तो लाग्दो हो एक्कासि नालीमा

ढल भित्र
कसैले राखेको छ
एक थोपा आत्मा
तर भ्रष्टाचारको डंगुर झोलमा
गुहार मागिरहेछ बाँगी खोला
सुन्दैन कसैले अनुनय-बिनय

ऊ अझै बग्छ,
यो उस्को लाज बगेको होइन
यो त बजारको म‌ै हुँ भन्नेहरुको लाज बगेको हो
त्यही तिमीहरुको असली प्रतिबिम्ब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै