अर्घाखाँची ।”आफै झाक्री , आफै धामी” बनेर जनता झुक्याउने नाटक मंचन गर्ने कार्य बन्द गर्न नेकपा (एस) अर्घाखाँचीका अध्यक्ष एबम सामाजिक एबम राजनैतिक ब्यक्तित्व राम बहादुर चौहानले बतानु भएको छ । लेखन तथा भाषण कलामा निकै अब्बल र अब्यस्त कुशल युबा नेता राम राम बहादुर चौहानले अर्घाखाँची जिल्लाबाट सार्न लागिएको खानेपानी कार्यालयको सन्दर्भमा सामाजिक सन्जाल मार्फत यसरि ब्यग्य प्रहार गर्नु भएको छ ।
स्वदेश तथा विदेशमा रहनु भएका आदरणीय अर्घाखाँचीबासी न्यायप्रेमी जनसमुदायहरु !
विगत केहि समय यता अर्घाखाँची जिल्लामा मात्रै होईन , देशव्यापी रुपमा जनताको आखामा छारो हालेर जनता झुक्याउने , स्याबासी पाउने र भोट बटुल्ने नाटक मन्चन गरेको देख्दा मलाई पन्चायतकालिन एकजना वनमन्त्रीद्वारा घटाइएको एउटा सत्य घटना ( नाटक)को याद आयो ।
उनी ( मन्त्रीजी ) हाल दिवंगत भइसकेकाले उनको नाम यहाँ उल्लेख गर्नु त्यति सान्दर्भिक नहोला । चाहे जे होस् , ऊनी साबिक लुम्बिनी अञ्चलको “R” जिल्लाबाट निर्वाचित राष्ट्रिय पन्चायतका सद्स्य थिए । ऊनी पन्चायत कालमा मात्रै होईन , २०४६ साल यता प्रजातान्त्रिक र गणतान्त्रिक दुबै कालमा समेत पटकौ – पटक सदनमा पुगे र मन्त्री समेत भए । प्राय , चुनाव लडेपछी उनले जे जे गरेर भएपनि जित हात पारेरै छाड्थे ।
एकपटक उनी बहालवाला वनमन्त्री भएकै बेलामा राष्ट्रिय पन्चायत सदस्यको चुनावमा उठे । उक्त चुनावमा उनको अबस्था अलि नाजुक थियो । अनि उनले जिल्लाका मुख्य – मुख्य मान्छेहरुलाई आफ्नो मन्त्रालयमा बोलाएर साल , सिसौ र खयरका रुखहरु आफ्नो इच्छा अनुसार फडानी गर्ने , काठको व्यापार गर्ने र दाम कमाउने सल्लाह दिए । उनको सल्लाह मुताविक जिल्लाका सबै महत्त्वपूर्ण मान्छेहरूले यो धन्दा शुरु गरे । अनि उनले सुटुक्क जिल्ला प्रशासन कार्यालय , जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ” फलानो – फलानो ठाँउका, फलानो – फलानो मान्छेलाई पक्राउ गरेर रामधुलाई गर्नु र काठ बिक्रीबाट आएको सबै पैसा असुल गरेर मन्त्रालयमा जम्मा गर्नको निम्ति मलाई बुझाउनु ” भनेर निर्देशन समेत दिए । तिनवटै कार्यालयको मिलेमतोमा उनको निर्देशन बमोजिम सबैलाई पक्राउ गरेर हिरासतमा राखियो , वन मुद्दा चलाएर जेलमा पचाउने धम्की दिइयो , रामधुलाई गरेर मरणासन्न अवस्थामा पुर्याइयो र करोडौं रुपैयाँ ऊनीहरुबाट असुली समेत गरियो ।
” मैले पिटेजस्तै गर्छु , तिमीहरु रोएजस्तै गर्नु ” भनेजस्तै पन्ध्र दिनपछि मन्त्रीजी प्रहरी कार्यालयमा आए । अनि सि. डि. ओ . , डि .एस. पी . र वन अधिकृतलाई सङ्गै राखेर थुनुवाहरुको साम्ने ठुलो – ठुलो स्ववरमा थर्काउन थाले , ” मेरा मान्छेहरुलाई किन पक्राउ गरेर थुनेको ? किन यस्तो मरुन्जेल कुटेको ? ल यहाँहरु सबैलाई अहिले छोड ” भनी आफै जिम्मा जमानी बसेर सबैलाई छुटाएर बाहिर ल्याए । अनि खुसुक्क करोडौं रुपैयाँ पनि ब्रीफकेसमा राखेर आफ्नो गाडीमा थन्काउन लगाए । त्यसपछि , सबै थुनुवाहरुलाई बाहिर चौरमा राखेर मन्त्रीजीले भाषण छाट्दै भन्न थाले , “तपाईंहरु सबै जना म मन्त्री नभएको भए पिटाइ खाएर ठानामै मारिनु हुन्थ्यो । बाचिहालेपनि मुद्दा लागेर जेलभित्रै पच्नुहुन्थ्यो । धन्न म मन्त्री भएको बेला पर्यो र बच्न सफल हुनुभयो । तपाईंहरु आफैले गल्ती गर्नुभयो । मैले त कसैले थाहा नपाउने गरी गोप्य ढंगले काट्नुहोला र बेचेर दाम कमाउनु होला पो भनेको । तपाईंहरुले त जताततै हल्ला गरेर जङ्गलै रित्तिने गरि काट्नु भएछ । फेरि तपाईंहरु पक्राउ परेको यत्रो दिनसम्म मलाई कसैले पनि भनेन र थाहा पनि पाइन । म पनि मन्त्रालयको कामले अलि व्यस्त हुनुपर्यो । हिजोमात्रै थाहा भयो र आज यहाँ आइयो । ठिकै छ , यो पटकलाई सबै जोगिनु भयो । आगामी दिनहरुमा पनि यस्ता समस्याहरुबाट यसरी नै जोगिने हो भने मलाई जसरी हुन्छ , यो चुनावमा पनि जिताएर मन्त्री बनाउनुपर्छ ।” मन्त्रीजीको कुरालाई सबैले गडगडाहट तालिकासाथ समर्थन गर्दै जय- जयकारका नाराहरु समेत घन्काउदै सबै चुनाव प्रचार – प्रसारमा लागे र प्रतिद्वन्द्वीले भन्दा झण्डै दोब्बर बढी मतले मन्त्री जीलाई चुनाव जिताए ।
कति गजबको फट्याइँ , मन्त्रीजी आफैले जनतालाई मन्त्रालयमा बोलाएर रुख काट्न लगाए , काठ बेचेर दाम कमाउन लगाए , आफैले उजुरी गरेर पक्राउ गर्न लगाए , आफैले थुनाएर मरुन्जेलसम्म कुटाए र पैसाभरी असुली गर्न लगाए , अन्तिममा आफैले आएर छुटाएको नाटक मंचन गरे , पैसापनि कुम्ल्याए , भोटपनि कुम्ल्य्याए र चुनावपनि जितेर फेरि मन्त्री पनि भए।
आदरणीय न्यायप्रेमी अर्घाखाँचीबासी आमाबुबा , दिदीबहिनी तथा दाजुभाइहरु !
भनाइको मतलब के हो भने अब हामी सबै हरेक सवालमा सचेत , चनाखो र एकताबद्ध बन्नैपर्छ । मिसन चौरासीलाई केन्द्रित गरेर हाम्रो जिल्लामा मात्रै होईन , देशव्यापी रुपमा मन्त्रीजीले जस्तै विभिन्न ढंगका नाटकहरु मंचन हुन थालेका छन् । ” आफै झाक्री , आफै धामी ।” “आफै सरकारमा , आफै सडकमा ,आफै डेलिगेसनमा अनि माग पुरा गरे – गराएको नाटक मंचन ।” कार्यालय खारेज , डेलिगेसन अनि पुनःस्थापनाको नाटक मंचन । बजेट कटौती , डेलिगेसन अनि बजेट यथावत गरिएको नाटक मंचन । अनि लाटासिधा जनताको आखामा छारो हाल्न सामाजिक संजालमा फोटा , भगेरे अक्षरमा बधाई , स्याबासी र शुभकामना । सरकारमा बसेकाले एकैपटक एक सय रुपैयाँ महङ्गी बढाउने , अनि आफ्ना नेता कार्यकर्ताहरुलाई महङ्गी घटाउन घेराउ , नाराजुलुस, ज्ञापनपत्र र डेलिगेसनको नाटक मन्चन गर्न लगाउने र यसो २/४ रुपैयाँ महङ्गी घटाए जस्तो पनि गर्ने । अनि धुर्त्याई नै नबुझी मख्ख परेर बधाई , स्याबासी र शुभकामनाको ओइरो छुटाउने हामी लाटासिधा जनता । धुर्तहरुले उता नब्बे रुपैयाँ महङ्गी पनि बढाउने , अनि यसो २/४ रुपैयाँ घटाएको बहानामा बधाई , स्याबासी , शुभकामना र उस्तै परे फुलमाला र दोसल्लाले स्वागत र चुनावमा भोट पनि कुम्ल्याउने ।
कार्यालय खारेज गर्ने र आफूलाई मन परेको ठाँउमा सार्ने , अनि आफ्ना नेता कार्यकर्तालाई ज्ञापनपत्र र डेलिगेसनको नाटक मन्चन गर्न लगाउने , त्यसपछि आर्थिक र जिन्सी अधिकार शुन्य भएको एक जना प्राविधिक र एक जना कार्यालय सहयोगी रहेको इकाई कार्यालयको नाममा बोर्ड झुण्ड्याउन लगाएर कार्यालय पुनःस्थापन गरिदिएको नाटक मन्चन गर्ने , अनि बधाई , स्याबासी र शुभकामनाको ओइरो साथै चुनावमा भोटपनि । फिनी चोरी भएको थाहा नपाउने तर गहुँका दाना गन्ने हाम्रो प्रवृत्ति ।
तिनै तहमा करिब दुई – तिहाई भन्दा बढी बाहुल्यता भएको सरकार छ । यो अवस्थामा यदि साच्चै हिम्मत छ , गर्ने चाहना र इच्छाशक्ति पनि छ भने अर्घाखाँची अस्पताललाई सुबिधासम्पन्न मेडिकल कलेजको रुपमा बिकास गर्न रु. २ अरब , पाणिनी बहुमुखी क्याम्पसलाई बहुप्राविधिक शिक्षालयको रुपमा विकास गर्न रु. १ अरब , अर्घा- भगवती विमानस्थललाई संचालनमा ल्याउन रु. २ अरब , बिदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काएर रोजगारीमा लगाउन रु. ५ अरब , सालझण्डी – सन्धिखर्क – ढोरपाटन सडकको निम्ति रु. ३ अरब सुपा देउराली मन्दिरलाई बिकास कोष अन्तर्गत समाबेश गर्न र नरपानी – तिनपाने क्षेत्रलाई चुनढुङ्गा खानीको रुपमा होईन , बृहत पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न रु. ३ अरब ………यही ढंगले जिल्लाका तमाम अन्य अलपत्र अवस्थामा रहेका योजनाहरुमा समेत पर्याप्त बजेट पारौं , पार्न पहल गरौं , बल्ल मन्त्रीजी सितको फोटा हालौ र बधाई , स्याबासी , शुभकामना , फुलमाला र अबिरजात्राको हकदार बनौं ।
यदि होईन भने यो पन्चायतकालिन मन्त्रीको जमाना होईन । यो त गणतान्त्रिक सार्वभौमसत्ता सम्पन्न जनताको युग हो ।अहिले त धेरैले मनोबिज्ञान पनि पढिसक्नु भएको छ । कसैले पनि आफूलाई रत्नपार्क चोकको चटके र जनतालाई चटक हेर्न झुम्मिएका दर्शक नठानौ । हामीले भन्दा बढि जनताले कुरो बुझिसक्नु भएको छ । हाम्रा जुँगा चल्दा जनताले कुरा बुझी सक्नुहुन्छ । बाउन्न पत्तीका त्रिपन्न खेल जनतालाई राम्रोसँग थाहा छ । नाटक भन्दा पनि जनतालाई साचो कुरा बतायौ भने मात्रै हामी सबैको कल्याण हुन्छ । जय अर्घाखाँची, जय जनता !!!
आफै झाक्री , आफै धामी” बनेर जनता झुक्याउने नाटक मंचन नगरौ: चौहान
तपाईको प्रतिक्रिया

























