काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले बहुविवाहसम्बन्धी कानून संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति निकालेर पर्याप्त छलफल गरेर मात्र कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको हो । विज्ञप्तिमा बहुविवाहसम्बन्धी कानून कसूर मात्र नभएर मानव अधिकारसँग सम्बन्धित विषय पनि भएको उल्लेख छ ।
कानून संशोधनबाट प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा बहुविवाहलाई प्रोत्साहन गर्ने र घरपरिवार, समाजमा पर्ने दूरगामी प्रभावबारे पनि बुझ्नुपर्ने आयोगको भनाइ छ ।
आमनागरिकसँग सरोकार राख्ने कानून संशोधन गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्न र त्यस विषयमा मानव अधिकारको समेत विषय भएकाले संशोधनको प्रस्ताव गर्दा आयोगबाट उपलब्ध सुझावलाई समेत ध्यान दिन विज्ञप्तिमार्फत आग्रह गरिएकाे छ ।

























