काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयमा एक महिनाभन्दा बढी समयदेखि भइरहेको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले हिजो तालाबन्दी नगर्न/नगराउन, ताला लगाएको भए खोल्न/खोलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
त्रिविको उपकुलपति, रेक्टर, रजिस्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश भट्टराईलगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
माघमा सकिएको स्नातक तहको भर्ना खुलाउनुपर्ने माग राख्दै आएका शङ्करदेव, सरस्वती, पब्लिक युथ, सानोठिमी क्याम्पसका नेविसङ्घमा आबद्ध स्ववियु पदाधिकारीले गएको जेठ १४ गते उपकुलपति कार्यालय तोडफोड गर्दै तालाबन्दी गरेका थिए । यस्तै आंशिक प्राध्यापक सङ्घले जेठ ३० गते उपकुलपतिसहित रजिस्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो ।स्रोत उज्यालो