काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरू हुनुअघि नै पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
वर्षायाम शुरू हुने बेला विभिन्न सङ्क्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्वतयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज तयारी बैठक राख्नुभएको थियो । विपद् प्रतिकार्य तथा महामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरूसँगको बैठकमा मन्त्री पौडेलले समयमै प्रतिकार्य तथा रोकथामका लागि ६ वटा निर्णय गर्नुभएको छ ।
मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरूसमक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । उहाँले सम्भावित महामारी हुने ठाउँको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेलगायतका निर्णय गर्नुभएको छ ।
मन्त्री पौडेलको प्रतिबद्धतानुसार सङ्क्रामक रोग ऐन २०२० लाई बदलिँदो परिस्थिति तथा आवश्यकतानुसार संशाेधन गर्नका लागि स्वास्थ्य सेवा विभागले एक हप्ताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

























