२१ कार्तिक २०८२, शुक्रबार
२१ कार्तिक २०८२, शुक्रबार

दर्शन र यसको अध्ययन विधि:

 

कुनै पनि विषयको अध्ययनमा निश्चित विधिलाई अवलम्बन गर्नुपर्ने हुन्छ। यसै गरी दर्शनको अध्ययन गर्दा पनि निश्चित विधिको आधारमा शिलशिलाबद्द रुपमा अध्ययन गर्नु पर्छ।

दर्शनको अध्ययन गर्दा यसको परिचय, परिभाषा र अवधारणा; उत्पत्ति, भूमिका, मौलिक सवालहरु तथा यसको अध्ययनका क्षेत्रहरूमा शिलशिलाबद्द रूपमा प्रवेश गर्दै अघि बढ्नुपर्ने हुन्छ। यसपछि मात्र विस्तारै प्रमुख दार्शनिक सिद्धान्तहरु हुँदै क्रमशः विभिन्न दर्शनहरू बारेमा अध्ययन गर्नु उपयुक्त हुन्छ।

यसरी शिलशिलाबद्द रुपम अध्ययन गरियो भने मात्र यसको गहिराई सम्म पुग्न सजिलो हुन्छ।

त्यसैले यस लेखमा दर्शनको अध्ययनको यस श्रृंखलालाई अध्ययन विधिको रुपमा निम्न अनुसार प्रस्तुत गरिएको छ।

१. दर्शनको अर्थ र परिभाषा:
दर्शन जीवन र जगतलाई हेर्ने, बुझ्ने, व्याख्या गर्ने र बदल्ने दृष्टिकोण हो। यहाँ हामीले जीवन भन्नाले मानव जीवन र जगत भन्नाले प्रकृति भन्ने बुझ्नु पर्दछ। त्यसैले प्रकृति, मानव जीवन र यिनीहरू बीचको अन्तरक्रियाको अवलोकन, अन्वेषण, विश्लेषण र परिवर्तन गर्ने मानिसको भित्री आँखा नै दर्शन हो।

आफूले अँगालेको दर्शनको आधारमा नै मानिसले हरेक वस्तु र समाजलाई हेर्ने, जाँच्ने, बुझ्ने र तदनुरूप आफ्नो धारणा र व्यवहार निर्धारण गर्ने गर्दछ।

समाजले एउटै वस्तु र घटनालाई फरक फरक ढङ्गले हेर्न, बुझ्न र व्याख्या गर्ने व्यक्तिहरू रहेको बहुलवादी चरित्र ग्रहण गरेको हुन्छ। तर पनि सबैभन्दा वैज्ञानिक र सत्यको नजिक रहेको जीवन दर्शन अगाल्न सक्ने व्यक्ति नै समकालीन समाजलाई केही न केही योगदान गर्दै सफल जीवन जीउन सक्दछ।

दर्शनका केही परिभाषा र धारणाहरू:
१.१. “सत्यलाई माया गर्ने व्यक्ति दार्शनिक हुन्।” (सुकरात)
१.२. “परलौकिक वस्तुहरूको वास्तविक प्रकृति पत्ता लगाउने विज्ञान दर्शन हो।” (एरिष्टोटल)
१.३. “सम्पूर्ण कलाहरूको जननी र दिमागको सच्चा औषधि दर्शन हो।” (शिसेरो)
१.४. “विज्ञानका आधारहरूको तार्किक अध्ययन नै दर्शन हो।” (बर्टान रुसेल)
१.५. “दर्शन भनेको ज्ञान सिद्धान्त बाहेक अरु केहि होईन।” (माओत्सेतुङ)
१.६. “हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम बौद्धिक सारतत्व हो।” (कार्ल मार्क्स)
१.७. “जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार प्राप्त गर्दछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार प्राप्त गर्दछ ।” (फ्रेडरिक एंगेल्स)

मानिसको जीवनमा आईपरेका समस्याहरुसंग जुध्ने एवं संघर्ष गर्ने र त्यसको हल खोज्ने क्रममा दर्शन जन्मिनुका साथै संघर्षकै क्रममा त्यसको विकास पनि भएको हो।

२. दर्शन शव्दको उत्पती:
दर्शन शब्द संस्कृत भाषाको दृश धातुबाट बनेको हो, जसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ।

दर्शनलाई अङ्ग्रेजीमा Philosophy भनिन्छ। ग्रीक भाषाको Philos (प्रेम) र Sophia (विवेक) बाट अंग्रेजीमा Philosophy शब्दको व्युत्पत्ति भएको देखिन्छ। Philosophy शव्दको प्रथम प्रयोगकर्ता पाइथागोरस हुन्।

३. दर्शनको भूमिकाः
साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रुपान्तरणको लागि मार्गदर्शन गर्न, पदार्थ र चेतना बीचको अन्तरसम्वन्धको अध्ययन गर्न र समाजको वास्तविकता वोध गर्न दर्शनको महत्वपूर्ण भूमिका रहेको छ।

हरेक व्यक्तिले जानेर वा नजानेर कुनै एक दर्शनलाई आफ्नो विश्वदृष्टिकोण (विश्वलाई हेर्ने आफ्नो निजी दृष्टिकोण) को रुपमा अँगालेको हुन्छ। यहाँ “विश्व” भन्नले “जीवन र जगत” वा “मानिस र प्रकृति” लाई बुझ्नुपर्दछ।

आफूले अँगालेको विश्वदृष्टिकोणको आधारमा व्यक्तिले आफ्नो विचारधारा निर्माण गरेको हुन्छ। तदनुसार उक्त विश्वदृष्टिकोण अबलम्बन गर्ने संगठनमा स्वभावतः आवद्ध हुन्छ, जुन सामाजिक, धार्मिक वा राजनैतिक नै किन नहोस्। उदाहरणको लागि कुनै धार्मिक संस्था वा सम्प्रदायले उक्त संस्था वा सम्प्रदायलाई दिशानिर्देश गर्ने दर्शन र त्यसका चालक नियमहरूलाई आफ्नो आस्थाको रुपमा अँगालेको हुन्छ, जसले त्यस संस्था वा सम्प्रदायलाई मार्गदर्शन गर्दछ। त्यसै गरी कुनै राजनैतिक पार्टीले आफूलाई मार्गदर्शन गर्ने दर्शन र उक्त दर्शनको आधारमा प्रतिपादित सिद्धान्तलाई मार्गदर्शक सिद्धान्तको रुपमा अँगालेको हुन्छ। जस्तै: प्रत्येक देशको कम्युनिष्ट पार्टीले मार्क्सवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा अबलम्बन गर्दछ।

४. दर्शनका मौलिक सवालहरुः
दर्शनशास्त्रको अध्ययनले मानिसको मस्तिष्कमा उत्पन्न हुने निम्न सवालहरुको जवाफ दिन्छ।

४.१. पदार्थ र चेतना मध्ये कुन प्राथमिक हो ?
४.२. विश्व वोधगम्य छ की अज्ञेय छ ?
४.३. भौतिक जगत र चेतना विचको सम्वन्ध कस्तो हुन्छ ?
४.४. चिन्तन र सत्ताको सम्बन्ध कस्तो हुन्छ ?

तसर्थ यी सवालहरुको जवाफ प्राप्त गर्नु दर्शनको उद्देश्य हो। यी प्रश्नहरूको जवाफ प्रत्येक दर्शनले आ-आफ्नो तरिकाले दिने गर्दछन्।

५. दर्शनका क्षेत्रहरु:
प्रत्येक दर्शनलाई निम्न तीन क्षेत्रहरुमा विभक्त गरी अध्ययन गरिन्छ। जसको सीमाभित्र रहेर उक्त दर्शनले दर्शनका सवालहरुको कसरी हल गर्दछ भनी लेखाजोखा गरिन्छ।

५.१. तत्व मीमांसा (वास्तविकताको सिद्धान्त):
यस अन्तर्गत जीवन र जगत बीचको अन्तरसम्वन्धको बारेमा अध्ययन गरिन्छ। साथै यसमा शाश्वत सत्य वा निरपेक्ष सत्यको बास्तविकता के हो भनि लेखाजोखा गरिन्छ । जसमा निम्न विषयवस्तुहरू पर्दछन्।
५.१.१. धर्मशास्त्र
५.१.२. आत्मासँग सम्बन्धित तत्वज्ञान
५.१.३. ब्रमाण्ड विज्ञान
५.१.४. सृष्टि विज्ञान
५.१.५. जीव-सृष्टि विज्ञान

५.२. ज्ञान मीमांसा (ज्ञान-सिद्धान्त):
प्राचीन दर्शनशास्त्रीहरुले ज्ञान मीमांसा वा ज्ञान-सिद्धान्तलाई नै दर्शनशास्त्रको प्रमुख विषयवस्तुको रुपमा स्वीकार गरेका थिए। यस अन्तरगत ज्ञानका श्रोतहरू र खासगरी पदार्थ र चेतना बीचको अन्तरसम्वन्धको अध्ययन गरिन्छ। यस सिद्धान्तमा मानव र उसको ज्ञान प्राप्त गर्ने क्षमता तथा समस्यामा विचार गरिन्छ। जस्तै ज्ञान प्राप्त गर्ने सीमा र साधन, प्रमाण-ज्ञान तथा सत्य र असत्यको स्वरूप, यथार्थता र भ्रमको स्वरूप एवम् मानव मस्तिष्कको यथार्थ ज्ञान प्राप्त गर्ने सम्भावना आदि।

५.३. मूल्य मीमांसा (मूल्य-सिद्धान्त):
मूल्य मीमांसाको सम्बन्ध मानव जीवनका विभिन्न मूल्य, उद्देश्य र आदर्शसंग हुन्छ। यस क्षेत्रमा प्रकृति र समाजलाई सञ्चालन गर्ने चालक नियमहरुको बारेमा अध्ययन गरिन्छ। जस अन्तर्गत निम्न तीन विभागहरु हुन्छन्।

५.३.१. तर्कशास्त्र:
मूल्य मीमांसा अन्तर्गत तर्कशास्त्रको महत्त्वपूर्ण स्थान हुन्छ। किनकी तर्कद्वारा नै यथार्थको स्वरूप निर्धारण गरिन्छ। तर्कहरुलाई आगमन तथा निगमन विधिद्वारा विज्ञानसम्मत रुपमा स्थापित गरी सत्यको अन्वेषण गरिन्छ। यस अन्तर्गत तर्कपूर्ण चिन्तन, कल्पना अथवा अनुमान, तर्कको लक्षण, तर्क पद्धति आदिको बारेमा विचार गरिन्छ।

५.३.२. नीतिशास्त्र:
यस विभाग अन्तर्गत व्यक्तिको आचरणसंग सम्बन्धित विभिन्न समस्याहरू माथि विचार र विश्लेषण गरिन्छ। जसले व्यक्तिले कस्तो आचरण देखाउन हुन्छ र कस्तो आचरण देखाउन हुँदैन भनी निर्क्योल समेत गर्दछ।

५.३.३. सौन्दर्य शास्त्र:
सौन्दर्य शास्त्र अन्तर्गत सौन्दर्य र रसका सिद्धान्तहरूको अध्ययन गरिन्छ। यसले साहित्य, संगीत, वास्तुकला, चित्रकला जस्ता कलाहरूको विकासमा सहयोग गर्दछ। यसमा सौन्दर्यका सांस्कृतिक, दार्शनिक र आकृतिगत पक्षमा विमर्श गरिन्छ।

६. प्रमुख दार्शनिक सिद्धान्तहरुः
जीवन र जगतसंग सम्बन्धित विभिन्न सवालहरुको बारेमा दिने जवाफको आधारमा दर्शनलाई मूलतः आदर्शवादी दर्शन र भौतिकवादी दर्शन गरी दुई धारमा विभक्त गरिएको छ।

६.१. आदर्शवादी दर्शनः
विश्व व्रम्हाण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको मान्ने, चेतना वा आत्मालाई सृष्टीको आदितत्व तथा पदार्थको अस्तित्व निर्धारक स्विकार गर्ने साथै संसारलाई अज्ञेय (वुझ्न नसकिने र अपरम्पार) ठान्ने दर्शन नै आदर्शवादी दर्शन हो।

आदर्शवादले दर्शनका मौलिक सवालहरुको जबाफ निम्न अनुसार दिन्छ:
६.१.१. चेतना पहिलो वा प्राथमिक हो, चेतनाले स्वयम् अस्तित्व निर्धारण गर्दछ।
६.१.२. संसार अज्ञेय छ।
६.१.३. ईश्वर सर्बशक्तिमान, निराकार, नित्य, अविनाशी र सर्वव्यापि छन्।
६.१.४. ज्ञान ईश्वरबाट प्राप्त हुन्छ।
६.१.५. मानव समाज ईश्वरको रचना हो।
६.१.६. आत्मा अमर रहन्छ, जीवनको पूर्वजन्म र पुनर्जन्म हुन्छ।
६.१.७. आदर्शवादले धर्मशास्त्रमा विश्वास गर्छ।
६.१.८. यसले प्रतिक्रियावादी वर्गको हित र पक्षपोषण गर्दछ।

यसरी आदर्शवादले चेतनालाई प्राथमिक मान्दछ। संसार बुझि नसक्नु र अपरम्पार छ भन्ने धारणा राख्दछ। विज्ञानको सट्टा ईश्वर र धर्मशास्त्रमा विश्वास गर्छ। यसले प्रतिक्रियावादी वर्गको पक्षपोषण गर्दछ।

आदर्श अर्थात् विचारलाई पदार्थ भन्दा पहिलो दर्जामा राखेकाले यस सिद्धान्तको नाम आदर्शवाद रहन गएको हो। यस विषयमा विभिन्न दार्शनिकहरुले आफ्नै तरिकाले तर्क प्रस्तुत गरेको पाइन्छ। आदर्शवादी दर्शनको जन्मदाता प्लेटो हुन्। युनानी दार्शनिक प्लेटोले परम सौन्दर्यबाट संसार बनेको छ भनेका छन् भने जर्मन दार्शनिक हेगेलले निरपेक्ष विचारबाट जगत बनेको बताएका छन्। अर्का दार्शनिक ह्युमले वस्तु वा संसारलाई जान्न र बुझ्न सकिनेबारे शंका प्रकट गरेका छन्। बेदान्त दर्शनले परब्रम्ह वा परमात्मालाई पहिलो बताउँछ।

६.२. भौतिकवादी दर्शनः
पदार्थलाई सृष्टीको आदितत्व तथा चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने अनि संसारलाई वुझ्न, विश्लेषण गर्न र बदल्न सकिन्छ भन्ने दर्शन नै भौतिकवादी दर्शन हो।

भौतिकवादले दर्शनका मौलिक सवालहरुका बारेमा निम्न अनुसार जवाफ दिन्छ:
६.२.१. पदार्थ पहिलो वा प्राथमिक हो, पदार्थबाट चेतनाको निर्धारण र विकास हुन्छ।
६.२.२. संसार वोधगम्य वा ज्ञेय (जान्न, बुझ्न सकिने) छ।
६.२.३. ईश्वर कल्पना मात्र हो। अलौकिक र अदृश्य शक्ति छैन।
६.२.४. ज्ञानको श्रोत व्यवहार हो।
६.२.५. समाज वस्तुगत जगतको विकासको परिणाम हो।
६.२.६. पूर्वजन्म र पुनर्जन्म हुँदैन।
६.२.७. भौतिकबादले विज्ञानमा विश्वास गर्दछ।
६.२.८. यसले सर्वहारा वर्गको हित र पक्षपोषण गर्दछ।

आदर्शवादको ठीक विपरीत भौतिकवादले पदार्थलाई प्राथमिक, अनादि र अनन्त हुनुको साथै पदार्थबाट चेतनाको जन्म हुने सच्चाईलाई पेश गर्दछ। संसार वोधगम्य भएको वकालत गर्दछ। विज्ञानमा विश्वास गर्दछ। यसले सर्वहारा वर्गको पक्षपोषण गर्दछ।

भौतिकवादी दार्शनिक फाँटमा प्रारम्भिक सांख्य दर्शनले प्रकृतिलाई प्रधान र पहिलो बताएको छ। चार्बाक दर्शनले ईश्वर मानेको छैन। पृथ्वी, जल, आगो, हावा जस्ता भौतिक पदार्थलाई जगतको पहिलो कारण बताएको छ।

युनानमा हेरेक्लाइटसले आगो र डेमोक्राइटसले परमाणुलाई पहिलो बताएका छन्। बेकन, चेर्निशेबस्की, फायरवाख आदि सबै भौतिकवादीहरुले पदार्थलाई पहिलो बताउँदै त्यसलाई मान्छेको मन भन्दा बाहिर बेग्लै अस्तित्व भएको र जान्न, बुझ्न सकिने बताएका छन्।

प्रख्यात जर्मन दार्शनिक हेगेलको आदर्शवादमा आधारित एकलकाटे द्वन्दवाद र फायरवाखको अधिभूतावादी भौतिकवादलाई फ्युजन गरेर कार्ल मार्क्सले द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको अन्वेशण गर्नु भएको हो।

आजको युग सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवाद विरोधी जनवादी क्रान्तिको युग हो। यस युगमा मार्क्सवादी दर्शन नै सुसंगत, क्रान्तिकारी र वैज्ञानिक दर्शन हो। यस दर्शनले नै सर्वहारा वर्ग र श्रमिक जनसमुदायलाई संघर्ष र मुक्तिको दिशामा अघि बढ्न प्रेरित गर्दछ। मार्क्सले नै दर्शनको वर्गीय सार्वभौमिकता पुष्टि गर्नु भएको थियो। त्यसैले त ऐतिहासिक तथा द्वन्दात्मक भौतिकवाद सर्वहारा वर्गीय दर्शन हो। यो मार्क्सवादी विश्वदृष्टिकोण हो।

मार्क्स भन्दा अघिका दार्शनिकहरुले संसारलाई बुझ्ने र व्याख्या गर्ने मात्र गरे तर मार्क्सले दर्शनको कार्य संसारलाई बुझ्नु र व्याख्या गर्नु मात्र नभई बदल्नु हो भन्ने कुरालाई स्थापित गरिदिए। यसरी जनतालाई परिवर्तन र मुक्तिको बाटो देखाउनु मार्क्सवादी दर्शनको काम हो। मार्क्सले भनेका छन्: “अहिले सम्मका दार्शनिकहरुले संसारको ब्याख्या मात्र गरेका छन् तर मुख्य कुरा त्यसलाई बदल्नु हो”

क्रान्ति पश्चात राष्ट्रनिर्माणको अभियानको नेतृत्व गर्न, योजनावद्ध विकासको अभियान अघि बढाउन, उत्पादनमा क्रातिकारी रुपमा अभिवृद्धि गर्न, व्यापक रोजगारी सिर्जना गर्दै सम्वृद्धि हासिल गर्नका साथै वैचारिक र सांस्कृतिक रूपान्तरण गर्दै समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्न मार्क्सवादी दर्शनले मद्दत गर्दछ।

यसरी भौतिकवादी दर्शनले प्रकृति-विज्ञान र समाज-विज्ञानका विविध शाखाहरूमा वैज्ञानिक विश्वदृष्टिकोण प्रदान गरेर वैज्ञानिक अध्ययन, अन्वेषण र अनुसन्धानमूलक कामका लागि पनि यथेष्ट मद्दत पुर्‍याउँछ। लेखक : अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा न १ निवासी राजनीतिक,सामाजिक तथा शैक्षिक ब्यक्तित्व श्रीकृष्ण भुसाल हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै