नेपाली नेताहरुको आत्म समीक्षा गर्ने बानी कम छ।आत्म समीक्षा गरे पनि सत्ता र शक्तिमा रहेको बेला गर्दैनन्।
सत्ता र शक्तिमा रहेको बेला आत्म समीक्षा गरेर आफु भित्रका कमी-कमजोरी हटाउँदै जनताको पक्षमा काम गरे मात्र जनता सत्तामा बस्ने प्रति आश्वस्त हुन सक्छन्।
यसो हुन नसक्दा हाम्रो देशमा जनताले प्राय स्थानीय, प्रदेश र संघीय नै किन नहोस्, सत्ता पक्षको विपक्षमा अभिमत व्यक्त गर्छन्।
हाम्रा राजनैतिक दलहरु जतिबेला सत्ता र शक्तिमा पग्छन्, त्यतिबेला जनमत उनीहरूको विपक्षमा हुनु विडम्बना हो।
राजनीतिको अभीष्ट सत्तामा गएर देश र जनताको पक्षमा सके आमूल परिवर्तनको नेतृत्व गर्ने नभए प्रगतिशील सुधारका काम सम्म गर्ने हो। नेतृत्वले त्यस्तो अनुभूति गराउन सकेको भए जनताले सत्ता पक्षको पनि समर्थन गर्ने थिए।
बहुदलीय व्यवस्था स्थापना भएपछि मनमोहन अधिकारीको नेतृत्वको ९ महीने सरकार सर्वाधिक लोकप्रिय सरकार थियो।
मनमोहन अधिकारी नेतृत्वको प्रथम कम्युनिष्ट सरकार पछि त्यो तहको नभए पनि केपी ओलीको नेतृत्वको अघिल्लो सरकारले नाकाबन्दीको विरुद्ध र राष्ट्रियताको पक्षमा लिएको अडानले जनतामा आशा जगाएको थियो।
२०६४ को निर्वाचन पछिको प्रचण्डको नेतृत्वको पहिलो सरकारबाट पनि जनताले धेरै अपेक्षा गरेका थिए। त्यसले पनि आशातित रुपमा जनताका अपेक्षा पूरा गर्न सकेन र स्वंम प्रचण्डले पनि जनअपेक्षा पूरा गर्न नसकी सरकार छाड्न पुगे।
त्यसपछि एमाले र माओवादीको एकता र त्यसको बलमा गठित सरकारबाट पनि देश र जनताको आशा जगाएको थियो। तर, नेताहरुकै कारणले त्यो एकता टिक्न नसक्दा जनतामा थप निराशा उत्पन्न भयो।
बहुदलीय व्यवस्थाको स्थापना पश्चात गणतन्त्र स्थापना अघि र पछिका अन्य सरकारहरुले त्यो तहको लोकप्रियता प्राप्त गर्न सकेका छैनन्।
जव कुनै पनि सरकारले आफूले गरेको कामबाट लोकप्रियता कमाउन सक्दैनन्, जनतामा निराशा उत्पन्न हुन्छ र पार्टी, नेता र सिंगो राज्यव्यवस्था प्रति वितृष्णा उत्पन्न हुन्छ।
त्यसैले, सरकारको पहिलो काम जनतालाई निराशाबाट मुक्त गरी आशा जगाउनु हो।
यतिबेला जनतालाई निराशाको दुष्चक्रबाट मुक्त गराउने उद्देश्यले ठूला दुई दलहरू मिलेर सरकार चलाइरहेका छन् र प्रथम चरणमा केपी शर्मा ओलीकाे नेतृत्वमा सरकार गठन भएको छ। यदि यस सरकारले पनि जनतामा र खासगरी युवा पुस्तामा आशा जगाउन सकेन भने देश असफलताको दिशा तर्फ ओरालो लाग्ने छ।
त्यसैले, यो सरकारले जसरी पनि जनतामा आशा जगाउने काम गर्नु पर्छ। जुनसुकै दलमा आवद्ध भ्रष्टाचारीहरुलाई कारवाही गर्ने अभियान अघि बढाउने हो भने मात्र जनतालाई आशाबादी गराउन सकिन्छ।
यसैगरी, किन जनताले र खासगरी युवाहरुले कुनैपनि तहको सरकारको विश्वास गर्न सकिरहेका छैनन् भन्ने बारेमा नेतृत्वले गम्भीर समीक्षा गर्नु पर्छ।
सत्तामा रहेको बेला नै राजनैतिक दलहरुले आत्मसमीक्षा गरेर देशको समग्र विकासको योजना सहित सरकार सञ्चालन गर्दै जनतालाई सुधारको अनुभूति गराउन सक्नु पर्छ।
प्रचण्डले बेला-बेलामा आफ्नै कामको बारेमा समीक्षा गरेको पाइन्छ। तर, यो समीक्षा सरकार बाहिर रहेको बेला मात्र हुने गरेको छ। केही हद सम्म यसलाई पनि सकारात्मक रुपमा लिन सकिन्छ। सत्तामा रहेकोबेला आत्मसमीक्षा गरेर तदनुसार कार्ययोजना नबनाउने तर, सत्ता बाहिर रहदा मात्र कमजोरीको कुरा गर्नुलाई पनि जनताले अवसरवादको रुपमा बुझ्ने गर्दछन्।
रवि लामिछाने विरुद्धका सहकारीको रकम अपचलन लगायतका मुद्दाले ठूला-ठूला भ्रष्टहरुलाई समेत कारवाही हुँदोरहेछ भन्ने आशा त जगाएको छ तर सँगसँगै सत्ता समर्थित व्यक्तिहरूलाई कारवाहीको दायरामा नल्याएको भन्दै आशंका समेत व्यक्त गरिएको छ।
यसको निराकरणको लागि निर्मम भएर सत्ताको नजिक र टाढा नभनी जुनसुकै दल सम्बद्द भ्रष्टहरुलाई कारवाहीको गरेर विश्वास जगाउनु पर्छ। अझै सुरुमा सत्ता नजिक रहेका भ्रष्टहरुलाई कारवाहीको दायरामा ल्याउँदा जनविश्वास आर्जन गर्न सकिन्छ।
प्रधानमन्त्रीको चीन भ्रमण र यसको दौरानमा गरिएको बीआरआई फ्रेमवर्कमा गरिएको हस्ताक्षरले पनि जनतामा केही आशा जगाएको थियो। सरकारले यसको विपक्षमा देखिएका आशंकाहरुको निवारण गर्दै जनतामा थप विश्वास जगाउनु पर्छ।
फेरी पनि, अहिलेको सरकारले सत्तामा छँदै किन जनताले सत्ता र सत्तासीन पार्टी प्रति संशय व्यक्त गरिरहेका छन् भन्ने बारेमा गम्भीर आत्मसमीक्षा गरेर सुधारको प्रत्याभूति दिन सक्नुपर्छ। यस दिशामा समयमै ध्यान दिन सकिएनभने दुई ठूला दल मिलेर सरकार निर्माण गर्नुको औचित्य स्थापित हुने छैन।
यो अन्तिम प्रयोग पनि सफल हुन नसक्दा जनतामा चरम निराश उत्पन्न हुनगई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यव्यवस्थामा नै संशय उत्पन्न हुन सक्छ।
त्यसैले, नेताहरुको असक्षमताको कारण कतिपय पुनरुत्थानवादीहरुलाई लोकतान्त्रिक गणतन्त्र जस्तो जनताले आफ्नो शासनको प्रवन्ध आफै गर्ने उन्नत स्तरको राज्यव्यवस्थाको सट्टा जहानियाँ राजतन्त्रको वकालत गर्दै जनतामा भ्रम सिर्जना गर्ने जुन अवसर उत्पन्न भएको छ, यसलाई अन्त्य नगरी नेपाली समाजले अग्रगति प्राप्त गर्न सक्दैन। लेखक : सन्धिखर्क १ अर्घाखाँची निवासी सामाजिक राजनीतिक तथा शैक्षिक ब्यक्तित्व श्रीकृष्ण भुसाल हुनुहुन्छ ।