पाणिनीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको तपोभूमिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यो ठाउँ पहाडको चुचुरोमा समथर भूभागमा अवस्थीत छ । पाणिनीमा दह छ, दहको बीचमा भगवान शिवजीको मूर्ति साँच्चिकै शब्दमा वर्णन गर्न पनि नसकिने यस क्षेत्रमा पुग्ने मानिसलाई मात्र थाहा हुन्छ यसको प्राकृतिक सुन्दरता ।
एउटै भूभाग जुन ठाउँबाट बगेको पानी उत्तरतर्फ गएमा कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा पुग्छ।
२०७६ सालमा नेपाल सरकारले देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिसदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा हुने सम्मेलनले विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमिको प्रचारप्रसार सँगै संसारभर पाणिनीलाई चिनाउन टेवा पुग्ने गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने बताउँछन् ।
सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्रीले गर्ने
पाणिनी सम्मेलनको लागी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलि आज पाणिनी दहमा आउँने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीसँगै मन्त्रीहरु, लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहितका मन्त्रीहरु त्था मन्त्रालयका सचिवहरु पाणिनी आउने भएका हुन । सम्मेलनको लागी मञ्ज निर्माण, भोजनको व्यवस्थापन, पाहुनाहरु स्वागत सत्कार तयारी, दहमै विशिष्ट पाहुँनाहरुलाई बस्ने व्यवस्था मिलाईएको पाणिनी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ।
पाणिनी दहमा साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ। साउनमा तपोभूमिस्थित यस दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ। ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ उपयुक्त हुन्छ भन्ने ऋषिमुनिको निष्कर्ष छ। सोही ठाउँको खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा पर्ने घनघोर जंगलको बीचमा रहेको यसै भूमिमा पाणिनिले तपस्या गरेका थिए । पहिले रुखका पात, पछि पानी मात्र पिएर र अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान शिवजी प्रसन्न हुनुभएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ ।
यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ। संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकसमुलरले भनेका छन, ‘हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा अत्यन्तै श्रेष्ठ छ।’
पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो। अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन ।
हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ।
विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको र प्रचारप्रसार सँगै विश्वभर चिनाउँन पाणिनी सम्मेलनको आयोजना गरिएको पाणिनी तपोभुमि संरक्षण सम्वद्र्धन समितीका अध्यक्ष पुष्करराज पोख्रेलले बताए।
अर्घाखाँचीको पूर्वमा रहेको पणेना र पोखराथोकको टापुमा यो तपोभूमि पर्छ। सो तपोभूमिबाट उत्तर फर्कंदा हिमशृङ्खला र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ। अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने बताउँछन् । यो क्षेत्रमा एउटा पोखरी, मठ मन्दिरहरु निर्माण सँगै संरक्षण भईरहेका छन् । तिनगीरेबाट जाने बाटो पिचँ सँगै सभाहल बन्दै गरेको अवस्थामा अलपत्र छ ।
पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन। पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन्।
पाणिनि ऋषिको योगदान केवल नेपाल वा भारतमा सीमित छैन, उनी विश्वब्यापी रूपमा भाषाशास्त्रका अग्रदूत हुन् । लुम्बिनीमा आएका धार्मिक पर्यटकलाई पाणिनी तपोभुमी हुदैँ सुपादेउरालीमा पु¥याउँन सकेमा पनि अर्घाखाँचीको विकास हुन सक्छ। संस्कृत अध्ययन गर्नेमात्र हैन, विश्वका विविध भाषाको अध्ययन गर्नेहरूले पनि पाणिनि ऋषिबारे अध्ययन गर्छन्, तर पनि यो ओझेलमा परेको तपोभूमिको प्रचारप्रसार पनि सम्मेलनले गर्ने अपेक्षा छ ।