१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

नवसामान्तवादी प्रवृत्ति: दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताको मूल कारण

 

सामन्तवाद वंशाणुगत प्रवृत्ति होइन, यो त व्यक्तिको गलत चिन्तनको कारण व्यक्ति भित्रै विकशित भईरहने अवसरवादी प्रवृत्ति हो। लामो समयसम्म सामन्तवादको बिरुद्द संघर्ष गरेर खारिएका कम्युनिष्टहरुमा पनि वर्गीय चिन्तनको स्खलन भयो भने अवसरवादी प्रवृत्ति हावी हुन सक्छ र उनीहरुलाई पनि नवसामन्तको रुपमा रुपान्तरण गर्न खोज्दछ।

नवसामन्तवादको मूल कारक तत्व सर्वसत्तावाद हो। क्षमतावान र इमान्दार सहकर्मीहरुको तेजोबध गरी पार्टीको आन्तरिक सत्तामा लामो समयसम्म एकलौटी र हालीमुहाली गर्ने अनि त्यसैको आडमा राज्यसत्तालाई समेत दुरुपयोग गर्ने प्रवृत्तिले नवसामन्तवादलाई संस्थागत गर्दछ । यो प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले व्यक्तिको चिन्तन र व्यवहारमा एक प्रकारको अराजकताको स्थिति उत्पन्न गर्दछ, जसले समाज र राज्य संरचनामा समेत अराजकता निम्त्याउँछ।

नवसामन्तवादी चरित्र आफू भन्दा माथिकाको चाकरी गर्ने र तलकालाई दमन गर्ने खालको हुन्छ। यस प्रवृत्तिले पार्टी भित्र तहगत विभेद सृजना गर्दछ, कार्यकर्ताहरुबाट चाकरी( फूल-माला, खादा र उच्च आसन आदि)को अपेक्षा गर्दछ। नवसामन्तवादीहरू पार्टीभित्र परिवारवाद हावी गर्न चाहन्छन्। उनीहरुको आर्थिक चरित्र उत्पादनमुखी नभई दलाली गर्ने बिचौलियाको रुपमा पतन भइरहेको हुन्छ। नवसामन्तवादले अन्ततः दलाल पूँजीवादको स्वरूप ग्रहण गर्दछ।

नेताहरुको खास मान्छेको रुपमा सहकर्मी हरुको तेजोबध गर्ने, अन्य कार्यकर्ताहरुलाई धम्क्याउने, गुण्डागर्दी गर्ने, दमन गर्ने र अन्त्यमा नेतृत्वमै आफू र आफू अनुकुलको झुण्ड स्थापित गर्ने प्रयत्न गर्नु नवसामन्तवादीहरूको मूख्य विषेशता हो। जसकोलागि उनीहरूले साम, दाम, दण्ड, भेदको नीति अंगिकार गर्दछन्। उनीहरूमा निम्न पूँजीवादी अधैर्यतावाद हावी भएको हुन्छ। उनीहरू वैचारिक कामलाई महत्व दिँदैनन्, आम सञ्चारका स्थापित माध्यमहरु र पार्टीका आधिकारिक फोरमहरु मार्फत विचार प्रवाह गर्ने हैसियत राख्दैनन् तर सामाजिक सञ्जालको व्यापक दुरुपयोग गर्ने कार्यमा लिप्त हुन्छन्। उनीहरूको कारण पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता उत्पन्न हुन्छ। कम्युनिष्ट पार्टीलाई यस प्रकारका नवसामन्तहरुबाट मुक्त गर्न नसकेसम्म आन्तरिक रुपमै प्रतिक्रान्तिको खतरा रही नै रहन्छ।

नियमित रुपमा पार्टी संगठनका बैठकहरु आयोजना गरेर योजना निर्माण गर्ने र तदनुसार योजनावद्ध रुपमा विचारले लैश भएको संगठन निर्माण गर्ने साथै तल्ला कमिटीहरुलाई पनि तदनुसार परिचालन गर्ने कार्य उनीहरूको प्राथामिकतामा पर्दैन। राजनैतिक, वैचारिक प्रशिक्षण तथा कार्यकर्ता र जनताका समस्याहरूको समाधान उनीहरूको महत्वको पार्टी काम हुन सक्दैन। पार्टीको साधन र श्रोतलाई दुरुपयोग गर्दै पार्टी कार्यकर्ताहरूको विवाह, पूजा, भोज-भतेर तथा मृत्यु संस्कारको कार्यमा सहभागी हुन आफु अनुकुलका झुण्डहरू संग दौडधुप गर्ने कार्यलाई मात्र उनीहरूले पार्टी कामको रुपमा लिइरहेका हुन्छन्।

नेकपा (एमाले) देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी भएकोले नवसामान्तवादको खतरा पनि नेकपा (एमाले)को हकमा झन् बढी हुन्छ। त्यसैले एमालेका इमान्दार नेता तथा कार्यकर्ताहरुले पार्टीभित्र देखिने यस प्रकारको प्रवृत्ति बिरुद्द निरन्तर संघर्षको नीति अंगिकार गर्नु पर्दछ।

नवसामन्तवादी प्रवृत्ति कम्युनिष्ट पार्टीभित्र उत्पन्न हुने दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताको मूल कारण हो। त्यसैले त नेकपा (एमाले)को दसौं राष्ट्रिय महाधिवेशनको मूल नारा पनि “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जवजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने रहेको छ। जुन नारालाई सार्थक तुल्याउनु यतिबेला एमालेका सबै तहका इमान्दार नेता तथा कार्यकर्ता हरूको जिम्मेवारी हो।(लेखक एमाले अर्घाखाँचीका बौद्धिक नेता तथा पूर्व जिल्ला कमिटी सचिवालय सदस्य एवं सन्धिखर्क नगर कमिटीका निवर्तमान अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै