१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनबाट पारित मूल नारा, यसको सान्दर्भिकता र कार्यान्वयनको प्रश्न:

“दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं; जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं।”

यो नेकपा (एमाले) को प्रथम विधान अधिवेशनले तय गरेको मूल नारा हो।

यस नारामा मूलतः २ वटा पक्षहरू समेटिएका छन्। यसको पहिलो पक्ष “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं” ले पार्टीले अघि सारेका लक्ष्य हासिल गर्न अत्यावश्यक साधनको रुपमा यसलाई कसरी जगेर्ना गर्ने भन्नेबारेमा प्रष्ट पारेको छ भने दोश्रो पक्ष “जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” ले स्पष्टतः लक्ष्यलाई पहिचान गरेको छ र उक्त लक्ष्य हासिल गर्ने मार्ग समेत प्रसस्त गरेको छ।

अव, नेकपा (एमाले) लाई अरु कुनै बाहिरी शक्तिले कमजोर गराउन सक्दैन, यदि कमजोर बनाउँछ भने आफैभित्र रहेको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताले नै बनाउँछ। किनभने कुनै वस्तु वा संगठनको गुण निर्धारणमा त्यसको आन्तरिक (सार) पक्षले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ न कि बाह्य (रूप) पक्षले। त्यसैले पार्टीलाई सबल बनाउन दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता रूपी आन्तरिक समस्यालाई समयमै निराकरण गर्नुपर्छ भन्ने यसको प्रथम पक्षको भाव हो।

यसै गरी, यस निष्कर्षको दोश्रो पक्ष “जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” ले पार्टीलाई देश निर्माणको आगामी कार्यभारको नेतृत्व गर्न अभिप्रेरित गरेको छ। यसले समाजवादलाई अबको हाम्रो साध्यको रुपमा पहिल्याएको छ र जबजलाई उक्त साध्य हासिल गर्ने मार्गको रुपमा थप स्थापित गरेको गरेको छ।

महाधिवेशनबाट पार्टीले यो नारा अघि सारीरहँदा एमालेले आफूभित्र मौलाउन सक्ने गलत प्रवृतिका साथै आफ्ना सवल पक्षहरुको राम्रोसंग पहिचान गरेर तदनुसार गलत प्रवृत्ति विरुद्ध संघर्ष र सही पक्ष तथा सामर्थ्यको सदुपयोग गर्दै पार्टीलाई थप सशक्त बनाएर जनताको बहुदलीय जनवादको आलोकमा संविधानमा लिपिबद्ध भएको समाजवाद स्थापना गर्ने दिशामा समग्र देशको नेतृत्व गर्न आत्मगत र वस्तुगत तवरले समेत तयार गरेको थियो।

यसरी एमालेको यो मूल नाराले पार्टीको तात्कालीन कार्यक्रम, यसलाई कार्यान्वयन गर्ने कार्यनीति तथा दीर्घकालीन लक्ष्य र त्यसलाई हासिल गर्ने रणनीतिलाई प्रष्ट रुपमा स्थापित गरेको थियो।

महाधिवेशनले पारित गरेको सही नीतिकै कारण नेकपाको विग्रह पछि अस्तव्यस्त पार्टी संगठनलाई लयमा ल्याउन र पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्न सफल भएको अवस्थामा सम्पूर्ण नेतृत्व र कार्यकर्ता पंक्ति समेत ऐतिहासिक रूपमा एकतावद्ध भएर २०७९ को स्थानिय र प्रदेश तथा संघीय निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै जनताको रोजाइको पहिलो पार्टी बन्न सफलता प्राप्त भएको थियो। यद्यपि संसदमा प्राप्त सिट संख्याको हिसावले दोश्रो ठूलो दलको रुपमा चित्त बुझाउनु पर्यो।

त्यस पश्चात पार्टी पंक्ति भित्र महाधिवेशनले स्थापित गरेका नीति तथा कार्यक्रमहरुलाई प्रष्ट पार्दै कार्यान्वयनकोलागि पार्टी संगठनको सुदृढीकरण गर्ने र निर्वाचित जनप्रतिनिधिलाई पार्टी संगठन प्रति उत्तरदायी बनाउने उद्देश्यले “मिसन ग्रसरुट” जस्तो कार्यकर्ता आधारित तथा समाग्र जनता लक्षित राष्ट्रिय अभियान अत्यन्तै सफलताका साथ सम्पन्न भयो। यसले पार्टीलाई कार्यकर्ता पार्टी मात्र होइन जनआधारित कार्यकर्ता पार्टीको रुपमा स्थापित गर्न बल पुर्यायो।

यहाँसम्म आउँदा नेकपा (एमाले) ले महाधिवेशनको फैसलाको मूल मर्म अनुसार त्यसैको बलमा आन्तरिक एकतालाई सुदृढ गर्दै पार्टीलाई अत्यन्तै सुझबुझका साथ अघि बढाईरहेको थियो।

अव रह्यो, २०७९ को निर्वाचन पश्चात मूल नारा र यसले प्रतिबिम्बित गरेको पार्टीको तात्कालीन र दीर्घकालीन कार्यक्रमलाई स्पष्टतः यसको भावना मुताविक कार्यान्वयन गर्दै अघि बढ्ने दिशामा देखिएका केही अन्योलता तथा अवरोधहरूको पहिचान र त्यसलाई हल गर्ने विषय।
यो विषयमा प्रवेश गर्दा ध्यान दिनुपर्ने मूख्य कुरा महाधिवेशनले पहिचान गरेका पार्टी भित्रका कमजोरीहरु के-के हुन् र प्रवृत्तिको हिसावले को-कसमा उक्त प्रवृत्तिहरु हावी छन् र यिनीहरूलाई कसरी निर्मूल गर्ने भन्ने नै हो।

यस दृष्टिले हेर्दा एउटा विषयमा प्रष्ट हुनै पर्छ, त्यो के भने महाधिवेशनले पार्टी भित्र नै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता हुर्कन सक्ने खतरा देखेको थियो कि पार्टी बाहिरका अन्य शक्तिलाई लक्षित गरी उक्त प्रसङ्ग उल्लेख गरिएको हो ?

अवश्य पनि, महाधिवेशनले अन्य राजनैतिक शक्तिहरूको पनि विश्लेषण गरेको र तिनीहरूको सबल र दुर्वल पक्षको पनि समीक्षा गरेको हुन्छ। तर, यस प्रसंगमा पार्टीको आन्तरिक जीवनमा नै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता हावी हुन सक्ने सम्भावनालाई इङ्गित गरिएको हो, न कि अरु कुनै बाहिरी शक्तिलाई।

यति प्रष्ट हुँदा हुँदै पनि, पार्टीको नेतृत्वमा रहेका जिम्मेवार व्यक्तिहरूबाटै महाधिवेशनले लक्षित गरेको दक्षिणपन्थी अवसरवादी प्रवृति पार्टी भित्र नभई बाहिर रहेका माधव नेपाल लगायतका व्यक्ति वा समूहमा रहेको र संगठनात्मक अराजकता पनि प्रचण्ड र उनको समूह वा त्यस्तै अरु कुनै पार्टी बाहिरको शक्तिमा रहेको भनेर पार्टी भित्र शुद्धतावादको वकालत गरेको पाइन्छ। जसले गर्दा आफै भित्र हुर्किरहेको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्न यसको विरुद्ध संघर्ष गर्ने विषय विषयान्तर भएको छ।

यसरी, पार्टीको शीर्ष नेतृत्वमा रहेका व्यक्तिहरुले नै कार्यकर्ताहरुलाई “तिम्रो कान कागले लग्यो भनेर काग खोज्न लगाउने” अवस्था सिर्जना गरिरहेको देखिएको छ। त्यसैले, जुन व्यक्ति र प्रवृत्तिले आफूभित्र हुर्किरहेको तथा महाधिवेशनले पहिचान गरेको दक्षिणपन्थी अवसरवादी प्रवृत्ति देख्दैन र बाहिरको कुनै व्यक्ति र समूहलाई लक्षित गरेर कार्यकर्तालाई भूलभुलैयामा पार्न खोज्छ, त्यही व्यक्ति र प्रवृत्ति नै पार्टी भित्रको दक्षिणपन्थी अवसरवादको प्रतिनिधि पात्र वा प्रवृत्ति हो।

तर, आज यो प्रवृत्ति पार्टी भित्र र बाहिरका इमान्दार कार्यकर्ता र शुभेच्छुक समेतले पहिचान गरिसक्दा पनि “बादशाहको नयाँ लुगा” को कथालाई चरितार्थ गर्न उद्यत छ। र, आफूभित्र हुर्किरहेको दक्षिणपन्थी अवसरवादलाई देख्न सक्दैन।

जनताको अभिमतलाई प्रतिक्रियावादीका पाउमा लगेर चढाउने, राजनीतिक स्थायित्वलाई भत्काउने, जनविरोधी शक्तिसंग साँठगाँठ गर्ने र व्यक्तिगत तथा गुटगत स्वार्थकालागि कम्युनिष्ट आन्दोलनको भविष्य माथि नै प्रहार गर्ने चरित्रलाई नै दशौं राष्ट्रिय महाधिवेशनले समेत पार्टी भित्र विद्यमान अवसरवादको रुपमा इङ्गित गरेको छ।

अहिले पनि पार्टी भित्र यस्ता प्रवृत्तिका अतिरिक्त पार्टी नेतृत्वमा रहेका सीमित व्यक्तिहरूको स्वार्थमा औपचारिक निर्णय र औचित्य बिना जुनसुकै राजनैतिक दलसंग सत्ता साझेदारी गर्ने; पार्टीको औपचारिक निर्णय बिना नेतृत्वको नजिक रहेको भरमा संघीय र प्रदेश सरकारमा तथा अन्य राजकीय क्षेत्रमा जिम्मेवारी प्रदान गर्ने; सत्ता बिना एकछिन पनि अडिन नसक्ने, राज्य सत्तालाई देशको विकास र जनताको सम्वृद्धिको पक्षमा सदुपयोग नगरी नेतृत्वको अवसरवादी प्रवृत्तिको आलोचना गर्ने कार्यकर्तालाई दमन गर्न दुरुपयोग गर्ने; पार्टी कार्यकर्ताहरुलाई जनता र पार्टी प्रति होइन, निश्चित व्यक्ति र समूह प्रति बफादार गराउने अवसरवादी प्रवृत्ति हावी भईरहेको छ। दक्षिणपन्थी प्रवृत्ति हावी हुँदा सीमित व्यक्तिहरूको सत्ता स्वार्थ नै पार्टी, देश र जनताको स्वार्थ भन्दा माथि हुन पुगेको छ। सत्ता स्वार्थले नेतृत्वलाई सही र गलत छुट्याउन नसक्ने अविवेकी बनाएको छ। सत्तामा रहेकै बेला अस्तित्वमै नभएको राजतन्त्रको विरुद्ध भन्दै कार्यकर्तालाई सडकमा रमिता गर्न लगाएर “कहीँ नभएको जात्रा हाँडीगाउँमा” भन्ने उखानलाई चरितार्थ बनाईएको छ।

यसैगरी, संगठनात्मक अराजकता पनि पार्टीलाई समाप्त गर्न सक्ने रोग हो भनेर महाधिवेशनले निदान गरी सक्दा समेत हामीले कुन-कुन व्यक्ति र प्रवृत्तिले यसलाई प्रश्रय दिइरहेका छौं भनेर स्वीकार्न त सकिरहेका छैनौं भने उपचार गर्न सक्ने त प्रश्न नै भएन। यहाँ बुझ्नुपर्ने कुरा के छ भने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता एक-अर्काका पूरक प्रवृत्ति हुन्। त्यसैले, जुन व्यक्ति वा प्रवृत्तिले दक्षिणपन्थी अवसरवाद हावी गराइरहेको छ, त्यही व्यक्ति वा प्रवृत्तिले नै संगठनात्मक अराजकताको अवस्था सृजना गरिरहेको हुन्छ। किन भने, “माछा मार्नु नै छ भने पानी धमिल्याउनु अनिवार्य हुन्छ”।

संगठनात्मक अराजकताका पनि असंख्य उदाहरणहरु छन्। शीर्ष नेतृत्व स्वंम नै विधानमा भएको ७० वर्षको उमेर हदलाई उल्लंघन गर्दै नेतृत्व हस्तान्तरणमा बाधक हुनु र प्रदेश, जिल्ला र पालिका अधिवेशनहरूमा समेत पार्टी विधानको फरक-फरक स्थान र प्रसंगमा फरक-फरक व्याख्या गर्दै संस्थागत गुटवन्दी (संस्थापनको नाममा गुटवन्दी) गर्नुले पार्टी भित्र संगठनात्मक अराजकताको अवस्था उजागर भएको छ। संगठनात्मक अराजकताको चरम नमुनाको रुपमा प्रदेश कमिटीहरुका अधिवेशन अघि विधान विपरित अध्यक्षको वरियता पोलिटब्युरो सदस्य सरह हुनेछ भनेर घोषणा गर्ने तर अधिवेशनबाट नेतृत्व चयन भईसकेपछि शीर्ष नेतृत्वको चाहना अनुसार नहुँदा केन्द्रीय कमिटी सदस्य सरह मात्र हुनेगरी कार्यान्वयन गर्ने अवस्थालाई लिन सकिन्छ।

संगठनात्मक अराजकताका अन्य उदाहरणहरुमा सामूहिक निर्णय व्यक्तिगत उत्तरदायित्वको सट्टा व्यक्तिगत निर्णय सामूहिक उत्तरदायित्वको उल्टो परिपाटी स्थापित गर्नु; पार्टीको घोषित नीति र निर्णयको अधिनमा रही कुनै नेता विशेषको गलत रवैयाको आलोचना गर्दा पार्टी निर्देशन अवज्ञा गरेको आरोप लगाउनु; कुनै पनि कमिटीको पदाधिकारी बन्नकालागि एक कार्यकाल सम्बन्धित कमिटीको सदस्य भएको हुनुपर्ने अभ्यास र केन्द्रिय संगठन बिभागले गरेको परिपत्रको बिपरित ब्यक्तिको पक्षधरता हेरेर जिल्ला जिल्लामा जिल्ला संगठन बिभागको नाममा उम्मेदवारको छुट्टै मापदण्ड तयार गर्नु; माथिल्लो कमिटीबाट अधिवेशन गर्दै जाँदा पार्टी जिम्मेवारीबाट छुटेका ब्यक्तिहरुलाई तल्लो कमिटीमा ब्यबस्थापन गर्न अनुकूल हुने उदेश्यले माथिबाट तल अधिवेशन आयोजना गरिएकोमा पार्टी बिधि-बिधानमा कहीँ कतै नभएको “एउटा अधिवेशनमा उम्मेदवार भएको ब्यक्ति अर्को कुनैपनि अधिवेशनमा उम्मेदवार हुन नपाउने” मापदण्ड बनाएर कार्यकर्ताहरुलाई जिम्मेवारी बिहिन बनाउनु; पार्टी तथा जनसंगठनका अधिवेशनहरूमा कार्यदलको नाममा औपचारिक निर्वाचन प्रणालीलाई पूर्णरूपमा निषेध गर्नु र स्वच्छ रुपमा प्रतिस्पर्धा वा सहमति गर्न नदिनु; नेतृत्वले नै आफ्ना अनुकुलका केही ब्यक्तिहरुलाई आधिकारिक उम्मेदवार भनेर प्यानल बनाएर प्रचार प्रसार गर्नु; पार्टी केन्द्रको निर्देशनको बिरुद्दमा जिल्ला कमिटी सदस्यहरुलाई पालिका कमिटीको सहजकर्ताको जिम्मेवारी दिनु आदि रहेका छन्।

यसका अतिरिक्त जिल्ला लगायत स्थानिय कमिटीमा सचिवालय गठन नगरी वा निष्क्रिय गराई पदाधिकारी वा कार्यालयको नाममा अवाञ्छित तवरले पार्टीभित्र सीमित व्यक्तिहरूले हालीमुहाली गर्नु; तल्ला कमिटीका अधिवेशनबाट निर्वाचित सदस्यहरुलाई नै तत्काल उपल्ला कमिटीमा मनोनयन गर्नु; अधिवेशनलाई प्रवाभ पार्नेगरी जथाभावी पार्टी सदस्य सरुवा गर्नु; गैह्र भूगोलको जिम्मेवारीमा रहेकालाई भूगोलको सहजकर्ता/इन्चार्ज बनाउनु; अधिवेशनहरूमा विधान सम्मत लोकतान्त्रिक अभ्यासलाई जबरजस्त निषेध गर्नु; स्थानिय कमिटीहरु विधानको प्रावधान भन्दा ठूलो आकारको बनाउनु; अन्तिम भन्दा अघिल्लो बैठकसम्म विधानको प्रावधान भन्दा बढी सदस्य रहेको अवस्थामा बदनियत पूर्वक अन्तिम बैठकमा विधानले प्रवन्ध गरेको संख्या मात्र रहेको अभिलेख कायम गरी अधिवेशनको स्वतः प्रतिनिधि बनाउनु; विधानले तोकेको संख्यामा कमिटीका बैठक आयोजना नगर्नु; जनप्रतिनिधिहरुलाई सम्बन्धित तहको पार्टी कमिटी प्रति उत्तरदायी बनाउन नसक्नु; अधिवेशन पछि जिम्मेवारी विहिन व्यक्तिहरुलाई पूर्णत: बेवास्ता गर्नु; वार्षिक क्यालेण्डर नबनाउनु, बनाए पनि कार्यान्वयनमा उदासिनता देखाउनु; स्थानिय कमिटीका बैठकहरु गणपुरक संख्या नपुर्याई सञ्चालन गर्नु; बैठकका निर्णयहरु समयमै माइन्युट, परिपत्र र कार्यान्वयन नगर्नु; कमिटीको सचिवद्वारा नै बैठकको सञ्चालन, माइन्युट र परिपत्र तयार नगराउनु; सूचना प्रविधिको सही उपयोग नगरी प्रविधिमा अभ्यस्त नभएको कारण नेतृत्वलाई गुमराहमा पार्नेगरी टेक्नोक्रेसी हावी हुनु; जनसंगठनका बैठकमा जनससंगठनकै नेता प्रमुख अथिति हुने अवस्थामा पार्टी नेतृत्वले सहजिकरण गर्नुपर्नेमा असहज अवस्था सिर्जना गर्नु; सामाजिक सञ्जालमा जिम्मेवार नेताले जथाभावी गैह्र जिम्मेवार अभिव्यक्ति दिने क्रमलाई मुख्य नेतृत्वले नियन्त्रण नगरी प्रोत्साहन गर्नु; बाटो बिराएर पार्टी बाहिर भएका इमान्दार व्यक्तिहरुलाई पार्टीमा फर्काउन कार्यकर्ता तहबाट भएका प्रयत्नलाई निरुत्साहित गर्नु तर पार्टी विरुद्ध गम्भीर अन्तर्घात गरेकोमा कारवाहीमा परेर अर्को पार्टीमा गएका व्यक्तिहरूलाई नेतृत्वमा रहेका सीमित व्यक्तिहरूको दलाली गरेको भरमा एकता प्रक्रियाको नाममा पहिलाको गल्तीको प्रायश्चित नगराई थप जिम्मेवारी सहित पार्टीमा भित्राऊनु; अधिवेशन आह्वान भएको बेला नेतृत्व विकासको चाहना गर्ने योग्य व्यक्तिहरुलाई अपमानित गर्नु; स्थानिय कमिटीका अधिवेशन प्रतिनिधि परिषदको बैठक नै आयोजना नगर्नु लगायतका असंख्य विश्रृंखलताका कारण पार्टीका केन्द्र देखि स्थानिय तहसम्म संगठनात्मक अराजकता मौलाएको छ।

यसरी, प्रत्येक विषयमा दोहोरो मापदण्ड प्रयोग गरेर पार्टीको नेतृत्वमा रहेका व्यक्तिहरुले नै संगठनात्मक अराजकताको अवस्था सृजना गरेको कटु सत्य आम पार्टी कार्यकर्ता र पार्टी बाहिरबाट अवलोकन गरिरहेका शुभचिन्तकहरुले समेत अनुभूत गरिरहेकै छन्। तर, नेतृत्वले स्वयं कमी-कमजोरीको अनुभूति गरी सच्याउन तयार हुनुको सट्टा इमान्दार पार्टी कार्यकर्तालाई तथानाम आरोप लगाउन तल्लीन छ। यसले पनि “अर्काको आङ्गको जुम्रा देख्‍ने, आफ्‍नो आङ्गको भैसी पनि नदेख्‍ने” उखानलाई चरितार्थ गरेको छ।

कुनै पनि राजनैतिक दल साध्य होइन, यो त क्रान्ति र निर्माणको साधन हो। त्यसैले राजनैतिक दलको उपादेयता यसको नेतृत्वमा हुने क्रान्ति र निर्माणको सफलताले निर्धारण गर्दछ।

क्रान्ति र निर्माणको मुख्य साधन (राजनैतिक दल) र त्यसमा पनि एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीको रुपमा नेकपा (एमाले) ले नेपालमा पटक-पटक सम्पन्न राजनैतिक परिवर्तनहरुको सफल नेतृत्व गरेको छ।

यद्यपि यी परिवर्तनहरूमा एमाले एक्लैले नेतृत्व गरेको भन्न मिल्दैन। नेपालको सन्दर्भमा संयुक्त जनआन्दोलन नै राजनैतिक परिवर्तनको आधार हो भन्ने पुष्पलाल श्रेष्ठको ठहरलाई पनि हाम्रा राजनैतिक परिवर्तनका परिघटनाहरुले पुष्टि गरेका छन्। साथै, यी परिघटनाहरुबाट स्वंम पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यनीति समेत सही रहेको पुष्टि भएको छ।

पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिको सफलता र जनताको बहुदलीय जनवादको प्रभावले एमालेलाई मात्र होइन नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरुलाई क्रान्ति पश्चात कम्युनिष्ट पार्टीको अधिनायकत्व स्थापना गर्ने तर्फ नलागी बहुलवादमा आधारित प्रतिस्पर्धात्मक राज्य व्यवस्था निर्माणमा प्रेरित गरेको छ। सन् ८० को दशक पछि विश्व कम्युनिष्ट आन्दोलनमा आएको संकटको गहिरो अध्ययनकासाथै पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिको सफलताको राष्ट्रिय परिवेशको सही विश्लेषणले पनि जननेता मदन भण्डारीलाई जनताको बहुदलीय जनवादको सूत्रपात गर्ने वस्तुगत आधार तयार भएको हो।

त्यसैले, यी वस्तुगत आधारबाट निर्क्योल गर्न सकिन्छ कि, जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सही कार्यक्रम मात्र होइन नेपालको विशिष्टतामा प्रतिपादित नेपाली क्रान्तिको सिद्धान्त समेत हो। यसले सबै नेपालीलाई एकतावद्द गरेर राष्ट्रिय पुँजीको विकास र समन्यायिक वितरण गर्दै समाजवाद निर्माणको समेत नेतृत्व गर्न सक्छ। यसको बलियो प्रमाण यो पनि हो कि, नेपालका सबैजसो कम्युनिष्ट पार्टीहरू बहुदलीय जनवादका अवधारणाहरुको आधारमै संचालित छन्। यद्यपि उनीहरूले जवजलाई प्रत्यक्ष स्वीकार नगरी २१ औं सताब्दीको जनवाद वा अरु त्यस्तै कार्यक्रमको नाममा यसको वरिपरि नै आफूलाई केन्द्रित गरिरहेका छन्।

राजनैतिक परिवर्तनका आन्दोलनहरुमा भएको सहकार्यले कम्युनिष्ट पार्टी मात्र होइन स्वंम नेपाली कांग्रेस लगायतका आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउने पार्टीहरुले समेत परोक्ष रुपमा जबजकै अवधारणालाई स्वीकार गर्दै देशलाई संविधानत समाजवादको दिशामा अघि बढाउने प्रतिवद्धता जनाएका छन्। यद्यपि, बिपी कोइरालाले समेत प्रजातान्त्रिक समाजवादको परिकल्पना नगरेका होइनन्, तर उनले कम्युनिष्ट पार्टीसंग सहकार्य गरेर समाजवाद प्राप्त गर्न नभई बढ्दो कम्युनिष्ट प्रभावलाई कम गर्न यो विचार अघि सारेका थिए।

त्यसैले, नाममा जे सुकै भनिए पनि केही अपवाद बाहेक देश अहिले बहुदलीय जनवादको मार्गदर्शनबाट नै अघि बढ्ने आधार तयार भएको छ।

यसरी, जनताको बहुदलीय जनवाद सर्व स्वीकार्य हुँदै जाँदा पनि पछिल्लो पटक पार्टी नेतृत्वमा रहेका जवजका व्याख्याता भनिनेहरुबाटै यसको भावना विपरित अभिव्यक्ति दिने काम भएको छ। जबजको मूल मर्म बहुलबाद हो। मुलुकलाई दुई दलीय व्यवस्था तिर उन्मुख गराउने भन्ने नेतृत्वको अभिव्यक्ति बहुलवादको विरुद्ध छ। तसर्थ, क्षणिक सत्ता स्वार्थकोलागि नेपाली कांग्रेससँग गठबंधन गर्ने विषयलाई अनावश्यक सैद्धान्तिक रूप दिन खोज्दा बहुदलीय जनवादकै हुर्मत लिने काम भएको छ। नेतृत्व तहबाटै भएको यो सैद्धान्तिक गल्ती तत्काल सच्याउनु आवश्यक छ।

उपरोक्त आधारहरूले नेकपा (एमाले) ले प्रथम विधान महाधिवेशनबाट पारित गरेको “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं” भन्ने निष्कर्ष अत्यन्तै सान्दर्भिक र समय सापेक्ष छ भन्ने पुष्टि गरेका छन्।

यसरी, नेकपा (एमाले) ले प्रथम विधान महाधिवेशनबाट जुन नीति तथा कार्यक्रमहरुको तर्जुमा गरेको छ र ती नीति तथा कार्यक्रमलाई संश्लेषण गरी मूल नारा तय गरेको छ, त्यो अत्यन्तै वस्तुपरक र सही छ। यसको सफल कार्यान्वयनले नै देशलाई विद्यमान अस्थिरता, विकृति, विसंगति र अन्योलको अवस्थाबाट मुक्त गराई संविधानमा संस्थागत गराइएको समाजवाद निर्माणको दिशामा अग्रगति प्राप्त गर्न सक्छ। यसकोलागि नेतृत्व स्वंमले महाधिवेशनले पहिचान गरेको आफै भित्र हुर्कीरहेको दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको अवस्थालाई स्वीकार गर्दै र जवजको मूल मर्मलाई जोगाउँदै निर्मम भएर सच्चिन तयार हुनुपर्छ।

यसो हुन सक्योभने मात्र पार्टीलाई दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको दुश्चक्रबाट जोगाउन सकिन्छ र जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्न सकिन्छ।

यसरी, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकताको समूल अन्त्य नभई मिसन ८४ मा पार्टीको समग्र शक्ति केन्द्रित गर्न कठिन हुन्छ। अन्यथा, मिसन ८४ पूरा गर्दै देश नेकपा (एमाले) को नेतृत्व र जबजको मार्गदर्शनमा समाजवादको दिशामा अघि बढ्ने प्रचुर सम्भावनामा डरलाग्दो चुनौती खडा हुन सक्छ।

(लेखक एमाले अर्घाखाँचीका बौद्धिक नेता तथा पूर्व जिल्ला कमिटी सचिवालय सदस्य एवं सन्धिखर्क नगर कमिटीका निवर्तमान अध्यक्ष हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (71%)
  • दुःखी (0%)
  • अचम्मित (29%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै