
बिजुला रायमाझी,प्रतिनिधि सभा सदस्य
नेपालमा १०४ वर्षे जहानियाँ राणा शासन र ३० वर्षे एक दलीय पञ्चायती शासन विरुद्धमा समाज परिवर्तन तथा राजनीति व्यवस्था परिवर्तनका खातिर ज्यान गुमाउने ज्ञात अज्ञात शहीदहरुप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नु हाम्रो कर्तव्य हो ।
देखावटी होइन मन मस्तिष्कबाट आभार व्यक्त गर्नु असल संस्कार हो तर आजभोलि सबैकुरा खोला तरिसकेपछि लौरो फाल्ने प्रवृत्तिले नयाँ पुस्तामा असल संस्कार विकास गराउन सकेका छैनौं । वर्षदिनमा एक पटक सहिदको शालिकमा ओजनदार माला र आकर्षक भाषणले मात्र सम्मान हुन सक्दैन ।जुन व्यवस्थाको सुन्दर सपना साकार पार्न अमूल्य समय र जीवन व्यतीत भएको थियो । त्यो मर्म भुल्नु हुँदैन र व्यवहारमा देखाउन सक्नु पर्दछ र मात्र सच्चा सम्मान हुन सक्छ ।तत्कालीन नेतृत्वकर्ता अथक योद्धा अग्रजहरु जो अहिले जीवित हुनुहुन्छ । उहाँहरूको योगदानको पनि उच्च सम्मान व्यक्त गर्न जान्नु पर्दछ । ।जसका कारणले आज हामी जे छौं र जहाँ जहाँ छौं । अभिभावकले कसरी परिश्रमबाट जीवन धान्ने र परिवारको रक्षा गरेका छन् ,घरको जायजेथा कस्तो छ नबुझी आइफोन,मोटरसाइकल र धनी साथीहरुको दाँजोमा हिँड्न खोज्ने सन्तान जस्तो गरी एकै छिनको क्लिकले अमेरिका, अस्ट्रेलिया,जापान,डेनमार्क,स्वीजरल्याण्ड जस्तो नेपाल हुन सक्दैन । समय लाग्छ पहिले नेपालीको सोंच बदल्नु पर्दछ । मृगले आफ्नो नाभीको कस्तुरी वन वन खोजेजस्तो गरेर भौतारिनुभन्दा प्रकृतिले दिएको सम्पदा जोगाएर उपयोग गर्ने दक्ष जनशक्ति र दूरदर्शी नेतृत्वलाई काम गर्न दिनुपर्दछ । बलियो कानून निर्माण र सबै नागरिकले इमानदारी साथ कानुनको पालना गर्ने, श्रम गरेर खाने र देशलाई कर तिर्ने गर्ने हो भने मात्र देश बन्छ ।नागरिकले कानून मान्न नपर्ने जादुले जस्तो फु…….! गरेर नेताले मात्र देश बनाउन सक्दैन ।
हामी त्यस्तो पुस्ता हौ जसले त्यो निरंकुशता,कुरीति, कुसंस्कार,शोषण,दमन र विभेदको खाडलमा परेर निस्कन प्रयास गर्दा जेल,नेल, रोग, भोक,अपमान,अत्याचार,देश निकाला,निर्वासन,झूटा मुद्दा धेरैले भोगेर ,सुनेर, पढेर थाहा पायौं । अन्याय र अत्याचारको कालो पर्दा च्यातेर जनतामा शिक्षा र चेतना रूपी उज्यालो दिन ल्याउन हामी मध्ये कोही प्रत्यक्ष जेल,नेल झूटा मुद्दा झेल्यौ भने कोही परिवारको सदस्य भएर पीडा र अभाव भोग्यौं ।आफन्त,छिमेकी र शुभचिन्तक भएर पनि भोग्यौं ।
हेक्का रहोस् कि यो व्यवस्था त्यति सजीलो गरी आएको होइन ।आजभोलि कहिले काहीँ चर्को बोलेर,मिडियाको बजारमा आफूलाई विकाएर फेसबुक रंगिन हुने गरी शब्दजालले सजाएर,भ्रम चलाएर, धम्काएर,सामाजिक सञ्जालमा भाइरल भएर वा इस्टनबाजी गरेर आएको,ल्याएको व्यवस्था होइन । हज्जारौं नेपालीको खुन, पसिना र जीवनको बाजी राखेर ल्याएको व्यवस्था हो ।
व्यवस्था परिवर्तनको आन्दोलनको क्रममा कति टुहुराभए कतिका काख रित्तिए,सिन्दुर पुछियो,अंगभंग भए,परिवार विहिन,घरवार विहिन भयौं । तिनीहरुको चहराइरहेको तन र मनका कहिल्यै नमेटिने घाउमा मलम लगाउन आँशु पुछन,चुहिने छानो ढाक्न,भोको पेटभर्ने,नाङ्गो आङ ढाक्ने उपाय खोज्न बाँकी नै छ । गरिबीको रेखामुनी रहेको साँझ बिहानको छाक टार्न कस्ले कताबाट सहयोग दिन्छ,मिल्छ भनेर काम खोज्दै भौतारिएका विपन्न,शिक्षाबाट वञ्चित,दुरदराजका सचेत नागरिकलाई क्षणिक भ्रम पारेर धनको आडमा र गठबन्धनको बलले ‘मेरो मत मेरो अधिकार’ भनेर निर्धक्क भोट हाल्न नपाउँदा देश बिग्रिएको हो । रोग, भोक र समस्यामा परेको वर्गले कस्तो काम गरेर कमाएको धन हो भन्ने जानकारी हुँदैन ।धन,दर, धम्की अथवा साम दाम ,दण्ड भेद गरी उम्मेदवारी लिने र जितेर जानेले जनताको सर्वोत्तम हितमा काम होला की नहोला ? चुनावमा धन दिने समूहको हित गर्न नसके फेरि राजनीति जोगाउन पर्ने भन्ने कुरा गरिखाने वर्गलाई विश्लेषण गर्ने फुर्सद नै छैन । केवल गोजीमा धन चाहियो । नेपालको यही अवस्थाको कारण जनप्रिय मत पाउँदा पनि स्पष्ट बहुमत आउन सकेन । कुनै दलले स्पष्ट बहुमतको आधारमा ५ वर्ष सत्ता चलाउने मौकाबाट वञ्चित भए ।
संविधान २०७२ लाई संघीय संरचना अनुसार पूर्ण कार्यान्वयन गर्न बाँकी नै छ । ३/३ र ६/६ महिनामा सत्ताको खेलले आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । स्पष्ट कानुनको अभावमा कार्य सम्पादन यथा समय र प्रभावकारी रूपले आम जनहितमा गर्न अझै अलमल नै देखिन्छ । हाम्रो मन मस्तिष्कमा युगौंदेखि गढेर रहेको सामन्ती सोंच,व्यवहार,आचरण, प्रवृत्ति र कार्यशैली परिवर्तन गर्न सकेका छैनौं । जैविक,पैतृक वा वर्गीय आधारमा विचार,सिद्धान्त,गन्तव्यको लक्ष फरक होला । जीवन र जगतलाई बुझ्ने, हेर्ने र जिउने कला र बाटा फरक होलान् तर राज्य र जन्मभूमिप्रतिको कर्तव्य त सबैको होला नि ? जो जो जहाँ भए पनि तराई,पहाड र हिमालमा बसे पनि बाहिरी पोशाक फरक,फरक परे पनि जन्मभूमि त नेपाल नै होला नि ? रगत रातै छ नि त होइन र ? के कसैले यो देशको माया गर्नु पर्ने,स्वाभिमान र राष्ट्रियता जोगाउनु पर्ने कसैले विरोध गर्ने र राष्ट्रलाई अस्थिरतातिर धकेल्न झन झन पानी धमिलो पारिरहने हो र ? कसैको अधिकार मात्र कसैको कर्तव्य मात्र त न हुनु पर्ने जस्तो लाग्छ महोदयहरु । महिलाहरुले सबै अनुशासन र मर्यादा पालना गर्नु पर्ने तर अधिकार र निर्णायक भूमिकामा पुरुष सक्षम देखिने यो सोंच बदल्नु पर्ने छ । एउटा पुरुष सफल हुन कतिजना महिलाको योगदान भिजेको हुन्छ ।आमा,हजुरआमा भाउजु,दिदी,बहिनी श्रीमती,छोरी लगायत । त्यसैले घर परिवार,समाज र राष्ट्रको उन्नति प्रगति,विकासमा महिला र श्रमजीवी वर्गको सम्मान गर्ने संस्कार विकासले मात्र देशको इज्यत र उन्नति सम्भव छ ।नागरिक नागरिक बीच जाती, भाषा,धर्म,वर्ग र लिङ्गको आधारमा विभेद रहनु हुँदैन । समानता, समावेशी,समानुपातिक प्रतिनिधित्वलाई व्यावहारिक बनाउँदै आत्मसम्मानसाथ जीविकोपार्जनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो ।
त्यसैले कुनै पात्र वा व्यक्तिको सोंच, प्रवृति र व्यवहारको कारण भएका एक आध गल्तीलाई नजिर बनाएर विश्वमा लोकप्रिय हुँदै गएको लोकतान्त्रिक व्यवस्थालाई दोष लगाउन र नेपाली जनतालाई फेरि अन्योलताको भुमरीमा धकेल्ने छुट हामीलाई छैन ।
कहीँ कतै काम गर्ने दौरानमा गल्ती भएको भए नेपाली जनतासङ्ग स्वीकारेर लोकतन्त्रको सुन्दर पक्ष उजागर गर्दै अरूको गल्तीमा टिकाटिप्पणीभन्दा फेरि आफ्नै शरीरको धूलो टकटकाउँदै अगाडि जाने हो ।पछाडि फर्कने निर्णय नेपाली जनताको हितमा छैन । नेपाली जनताको अथक संघर्षको फल
पहिलो पटक जनताका प्रतिनिधिबाट निर्मित संविधान २०७२ को प्रावधान अनुसार अहिले जो जो जहाँ र जुन जिम्मेवारीमा छौं ।कोही सडक कोही सदनमा हौला तर नेपाली जनतालाई अब भ्रम पार्न कोशिश नगरौं ।
हिजको पुस्ताको परिश्रममा परिश्रम जोडेर परिमार्जन र विकास गर्न पाइन्छ तर सदनमा छौं भनेर संविधानको मूल मर्म सार्वभौम सत्तासम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार पक्कै छैन । देशको मूल कानून संविधानको समीक्षा गर्न पाइएला तर अपमान गर्न पाइँदैन जस्तो म बुझेको छु । विचार फरक हुनसक्छ अध्ययन ,विश्लेषण,विचार र दर्शनले बुझाइ फरक पार्न सक्छ ।
२०६२/२०६३ को व्यवस्था परिवर्तनपछि अन्तरिम संविधानको मस्यौदा तयार गर्दा नै महिलामुक्ती आन्दोलनका अग्रजहरुले राखेको चार बुँदे संकल्प प्रस्तापको जगमा टेकेर संविधान २०७२ मा राज्यका सम्पूर्ण संरचनामा कम्तीमा ३३ % महिला सहभागिताको सुनिश्चितता गरेको थियो र त हामी यहाँ छौं । सात राजनीतिक दलका अठार जनसँगठनका महिला मुक्ति आन्दोलनका साझा चार प्रस्ताव थिए ।
१ राज्यका सम्पूर्ण संरचनामा कम्तीमा ३३% महिला सहभागिता सुनिश्चित गर्ने ।
२ महिला विरुद्ध हुने सबै प्रकारका हिंसाको अन्त्य गर्ने ।
३ असमान कानुनलाई खारेज गर्ने ।
४ आमाको नामबाट नागरिकता दिने ।
यी चार बुँदे संकल्प प्रस्ताप नै नेपाली महिला आन्दोलनका महत्वपूर्ण उपलब्धी बने ।त्यसैको जगमा उभिएर आज हामी यहाँ छौं ।
यो उपलब्धी कसैको दया,माया र करुणाले दिएको होइन ।अन्तर्राष्ट्रिय महिला आन्दोलनको उपलब्धी हो ।द्रोसो विश्व महिला सम्मेलन र चौथो बेइजिङ्ग सम्मेलनको आधारमा नेपाली महिलाहरूले गरेको अथक संघर्षको प्रतिफल हो ।हामी काम र भूमिकाको दौरानमा जुन मोर्चामा रहेर लडे पनि महिला भएकै आधारमा यहाँ आम श्रमजीवी महिलाहरुको प्रतिनिधि पात्र हौ । श्रम गरेर खाने श्रमिक महिलाहरुको आवाज सुनुवाई भएको महत्वपूर्ण दिन मार्च ८ को अवसरमा म यस लेख मार्फत् विश्वभरका आमा दिदी बहिनीहरूमा क्रान्तिकारी शुभकामना व्यक्त गर्न चाहन्छु ।
यसै अवसरमा तत्कालीन हाम्रो अनेमसँघको नेतृत्वमा सांसद हालका सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको ज्यूको प्रस्ताव नेपाल महिला संघको नेतृत्व मा कमला पन्तको समर्थनमा सम्मानित सदनले पारित गरेको महत्वपूर्ण संकल्पले संविधान २०७२ मा कानुनको रूप धारण गरेको थियो । यो युगान्तकारी प्रस्ताव र संघर्षप्रती नेपालको पहिलो महिला तथा गणतान्त्रिक नेपालको दोस्रो पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी र मा कमला पन्त लगायत तत्कालीन सम्पूर्ण दलका नेतृत्वप्रति पनि आभार सहित सम्मान व्यक्त गर्दछु ।
नेपाली महिलाले पाएको यो महत्वपूर्ण उपलब्धीलाई मर्यादित र अर्थपूर्ण सहभागितामा परिणत गर्दै जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको लागि पहल र सङ्घर्ष गर्ने दायित्व हाम्रो हो । प्राप्त उपलब्धिलाई अवसर र हाम्रो उपस्थितिलाई अर्थपूर्ण र थप प्राप्तिका चुनौती पार गर्न सम्पूर्ण समाज परिवर्तनका अभियन्ताहरु,आ आफ्ना राजनीतिक दलको समन्वय,सहयोग,समर्थन र हामी बिच साझा मुद्दामा एकताको आवश्यता जरुरी छ । सबैको ध्यान जाओस कि जुनसुकै घर,परिवार,समुदाय,समाज र राष्ट्रलाई हिंसारहित,सभ्य,मर्यादित, विकशित र समृद्धीका लागि महिला पुरुषको सहकार्य समानता र सह अस्तिवले मात्र सम्भव हुने कुरा स्वीकार्न सकौं ।यो तथ्य समाज विकासका अध्ययता र दार्शनिकहरुका भनाइहरूले पुष्टी गर्दछ । त्यसैले यो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभित्र र बाहिर रहनु हुने श्रमजीवीहरु आमा दिदी बहिनीहरुमा क्रान्तिकारी शुभकामना व्यक्त गर्दै आ आफ्नो भूमिका जहाँ छ त्यसलाई प्रभावकारी,मर्यादित र अब्बल बनाउँदै राष्ट्रियता,स्वाभिमान,स्वावलम्बन, र निष्पक्षता,पारदर्शिता र आत्मनिर्भरताको बाटोमा नेपाली जनतालाई हिंडाउन ,नेपालमा हरेक प्रकारका चुनौती सामना गर्न,भौतिक विकास मात्र नभई हरेक किसिमले घर परिवार समाज र राष्ट्र समृद्द बनाउने, विकासका ढोका खोल्दै समृद्ध नेपाल सुखी नेपालीको सुन्दर नारालाई साकार पार्न आधा धर्ती ओगटेका महिला वर्गको जनसंख्याको आधारमा राज्यका हरेक क्षेत्रमा प्रतिनिधित्वको सुनिश्चितताको अभियानलाई साथ र समर्थन दिन वर्तमान सरकार,सरोकारवाला निकाय,सम्पूर्ण राजनीतिक दल समक्ष हार्दिक अनुरोध गर्दै अगाडी बढ्नुको विकल्प छैन । संविधान २०७२ ले टेक्ने धर्ती र समाउने हाँगो भेटिएको छ । अहिलेका पुस्ता अधिकार उपभोग र मनोरञ्जनमा मात्र मख्ख होइन जिम्मेवार बनेर उपलब्धिको रक्षा गर्दै अझ समृद्ध बनाउन योगदान गर्नु पर्दछ ।अब अरुतिर एउटा औंला देखाउदा चारवटा औंला आफूतिर फर्किएको पनि देख्नु पर्ने हुन्छ । अधिकार मात्र खोज्ने होइन कर्तव्यमा पनि जुट्नु पर्दछ । अहिलेसम्म भएका राम्रा उपलब्धिको रक्षा गर्दै थप राम्रो गर्नु नै अग्रगमन हो । पुर्खाको नासो सन्ततिमा बिगारेर होइन सपारेर बुझाउनु छ । त्यसको लागि राष्ट्रिय एकता र समझदारीको आवश्यकता छ । प्राप्त उपलब्धिको रक्षासँगै थप सङ्घर्ष जारी नै राख्नु पर्दछ । कुनै २/४ व्यक्तिले अवसर पाउँदैमा वर्गीय मुक्ति र महिलामुक्ती आन्दोलन रोकिँदैन ।