८ माघ २०८१, मङ्लबार
८ माघ २०८१, मङ्लबार

९ रुपैयाँको नुन किन्न २५ सय खर्च

Workplace

हुम्ला – हुम्लाकाे सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरूले दुई हजार  पाँच सयसम्म खर्च गरिरहेका छन् ।

नुन वितरणको डिपो कार्यालय गाउँभन्दा टाढा हुँदा महँगाे गाडी भाडा तिरेर उनीहरू नुन किन्न जानुपरेको छ । नुन लिन जाँदा र घर फर्कन मात्रै २५ सय रुपैयाँ रकम खर्च हुने गरेको स्थानीयवासी रामशरण रावतले बताउनुभयो ।

केही दिनअघि साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिक्री गर्ने नुन खरिद गर्न सर्केगाडमा रहेकाे डिपोमा ठूलो रकम खर्च भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, गाउँभन्दा पालिका केन्द्र टाढा छ । अनुदानमा ९ रुपैयाँ पर्ने नुन लिन जान २५ सय खर्च लाग्छ ।

एक दिनको पैदलयात्रामा पुगिने ठाउँमा गाडीमा आउजाउ गर्दा २५ सय रुपैयाँ लाग्ने गरेको रतन रावतले बताउनुभयो । साल्ट ट्रेडिङको सर्केगाड बजारमा रहेकाले डिपो केन्द्रमार्फत मात्र बिक्री गर्दा तुम्चका ९५ घरधुरीलाई समस्या हुने गरेको रावतको भनाइ छ ।

गाउँपालिका केन्द्र टाढा रहेकाले गाउँपालिकाबाट पाउने अन्य सेवा सुविधाबाट समेत वञ्चित भई वडा कार्यालय जानसमेत तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेको रावतले सुनाउनुभयो । वडा कार्यालय जैरमा भएकाले तीन घण्टाको उकालो हिँडेर विभिन्न सिफारिश लिनुपर्ने अवस्था छ ।

तुम्च गाउँका नागरिकले नुन सर्केगाड नपुर्‍याई बालुकुना क्षेत्रबाट वितरण गर्दा आफूहरूलाई सहज र खर्च पनि बच्ने उनीहरूको भनाइ छ । साल्ट ट्रेडिङ कर्पोरेशन शाखा हुम्लाका प्रमुख राजबहादुर लामा भने दक्षिण भेगका चार वटा गाउँपालिकाका लागि सहज पहुँच पुग्ने गरी बिक्री केन्द्रबाट वितरण हुँदै आएको बताउनुभयो ।

एक/दुई पटक यहाँका नागरिकको समस्यालाई हेरी तुम्चका लागि बालुकुना मै वितरण भएको उहाँको भनाइ छ । अहिले चङ्खेली र सर्केगाडका लागि सर्केगाड बिक्री केन्द्र र अदानचुली र ताँजकोटका लागि अदानचुलीको श्रीनगरसम्म पुर्‍याउने सम्झौता भएको लामाले बताउनुभयो ।

ती चार वटा गाउँपालिकाका लागि चालू आर्थिक वर्षमा १८ सय क्विन्टल नुन पुर्‍याइनेछ । सर्केगाडका लागि पाँच सय, चङ्खेलीका लागि चार सय, अदानचुलीका लागि पाँच सय, ताँजकोट गाउँपालिकाका लागि चार सय क्विन्टल नुन ढुवानी हुने भएको छ । अहिले दक्षिण भेगमा नुन ढुवानी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
तपाईको प्रतिक्रिया

spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img
spot_img

लाेकप्रिय

spot_img
spot_img

भर्खरै