
- ब्राजिलले स्कटल्यान्डलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ।
- स्कटल्यान्ड यो हारसँगै विश्वकपबाट बाहिरिएको छ।
- अर्को खेलमा मोरक्कोले हैटीलाई ४-२ गोल अन्तरले हराएको छ।
फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा पुगेको छ । केही बेरअघि सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० ले हराएको हो ।
अमेरिकाको मियामी स्टेडियममा खेलको सातौँ मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को बलियो अवस्थामा पु¥याए । दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाब कायम राख्यो ।
खेलको ६०औँ मिनेटमा म्याथियस क्यूनाले गोल गर्दै टोलीको अग्रता ३–० पु¥याए । खेलको ७७ औँ मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन् । पराजित भएसँगै स्कटल्यान्ड विश्वकपबाट बाहिरिएको छ ।
यस्तै, एटलान्टा स्टेडियममा भएकाे खेलमा मोरक्कोले हैटीमाथि ४–२ को जित निकालेको छ । मोरक्कोका लागि अहरफ हाकिमीले ३९ औँ,इसामेल साईबेरीले ४६ औँ,सुफयान रहिमीले ७८ औँ र जाकरिया अल ओदीले थप समयमा गोल गरे भने हैटीका लेनी जोसेफ र विस्सन इसिडोरले क्रमश १० औँ र ४३ औँ मिनेटमा गोल गरे ।

























