
निम्बतरु
म आफ्नो अनुहार कोर्दिनँ,
म आफ्नो अवस्था कोर्छु।
क्यानभासमा देखिएको त्यो मान्छे
म होइन—
त्यो मेरो बहाना हो,
मेरो ढाकछोप हो,
मेरो असफलताहरूको
राम्ररी धोएर सुकाएको छाला हो।
आत्मचित्र भनेको
आफ्नो अनुहार बनाउनु होइन,
आफ्नो नङले आफ्नै छाला कोतार्नु हो
र रगतले अनुहारको नक्सा बनाउनु हो।
ब्रसले रंग हालिँदैन,
ब्रसले घाउ खोलिन्छ।
रंगहरू त रंग होइनन्—
ती त पुराना पश्चातापहरू हुन्,
जुन सुक्दा कालो हुन्छन्।
आत्मचित्र कोर्ने मान्छे
अलि-अलि मर्दै गएको मान्छे हो।
किनकि
आफ्नो अनुहारलाई यति धेरै हेर्नु
आफ्नो झूटसँग दिनहुँ भेट्नु हो।
ऐनाले त अनुहार देखाउँछ,
तर क्यानभासले
मान्छेभित्रको कुहिएको ठाउँ देखाउँछ।
त्यसैले
सबैभन्दा क्रुर चित्रकार
आफ्नै चित्र कोर्ने मान्छे हो—
किनकि उसले
अरूलाई होइन,
आफ्नै अस्तित्वलाई
बिस्तारै बिस्तारै काटेर
फ्रेममा टाँसिरहेको हुन्छ

























