हृदय भुसाल अर्घाखाँची ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीको आयोजनामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन परिचालन समितिको बैठक सन्धिखर्कमा सम्पन्न गरेको छ। बैठक पार्टीका केन्द्रीय नेता एवम् पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका पदाधिकारी एवं नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले निर्वाचनलाई सशक्त, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण समितिहरू समेत गठन गरेको छ। जसअनुसार चन्द्रबहादुर खड्काको संयोजकत्वमा २ हजार एक सय ९९ सदस्यीय निर्वाचन परिचालन समिति, छमकुमारी खनालको संयोजकत्वमा प्रचार–प्रसार समिति, ठाकुरकुमार विकको संयोजकत्वमा प्रतिबद्धता तयारी समिति, राजेन्द्र भुसालको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति लगायत निर्वाचन अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने अन्य विषयगत समितिहरू चयन गरिएको छ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि केन्द्रिय नेता चक्रपाणी खनालले देशभर पार्टीप्रति जनआकर्षण बढ्दै गएको उल्लेख गर्दै नेकपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण नेता–कार्यकर्ता एकताबद्ध भएर मैदानमा उत्रिनुपर्ने बताउनुभयो। उहाँले पार्टी नयाँ योजना, स्पष्ट दृष्टिकोण र परिवर्तनमुखी राजनीतिक कार्यदिशासहित अघि बढेकाले जनतामा भरोसा र कार्यकर्तामा उत्साह देखिएको दाबी गर्नुभयो।
पार्टी केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन समितिका संयोजक चन्द्रबहादुर खड्काले पार्टीका उम्मेदवार योग्य, सक्षम र जनताको भरोसाका पात्र भएको बताउँदै आफूले नेतृत्व गरेको कुनै पनि निर्वाचनमा अहिलेसम्म पराजय नबेहोरेको उल्लेख गर्नुभयो। नेता खड्काले यसपटक पनि अर्घाखाँचीमा पार्टीको जीत सुनिश्चित रहेकोमा बताउनु भएको थियो।
केन्द्रीय सदस्य ठाकुर विकले यो निर्वाचन नेता–कार्यकर्ताको राजनीतिक सक्रियता र जनतासँगको सम्बन्धको मूल्याङ्कन गर्ने अवसर भएको बताउँदै सबैलाई अनुशासित,एकताबद्व र जिम्मेवारीका साथ निर्वाचनमा होमिन आग्रह गर्नुभयो।
पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार रामबहादुर चौहानले लामो समयदेखि जिल्लावासीको सेवामा निष्ठापूर्वक समर्पित रहँदै आएको उल्लेख गर्दै जनताको साथ, विश्वास र मायाले आफूलाई निर्वाचन जित्ने आत्मविश्वास बढाएको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार विकास, सुशासन र समृद्धिका पक्षमा दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकले माघ १४ गतेदेखि मालारानीबाट मतदाता भेटघाट तथा निर्वाचन अभियान औपचारिक रूपमा सुरु गर्ने निर्णय गरेको प्रचार–प्रसार समितिका संयोजक छमकुमारी खनालले जानकारी दिनुभयो। पार्टी केन्द्रीय सदस्य नारायण शर्माले भूगोल र जनसमुदाय अनुसार फरक–फरक ढंगले चुनावी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।
प्रखर वक्ता, स्वच्छ छवि, अध्ययनशील, लगनशील तथा विकासप्रेमी नेता रामबहादुर चौहान भएकाले निर्वाचनमा जीत सुनिश्चित हुने विश्वास नेता–कार्यकर्ताहरूले व्यक्त गरेका छन्। बैठक चन्द्रबहादुर खड्काको अध्यक्षता तथा राजेन्द्र भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिनिधि सभा निर्वाचनमा नेकपाको तयारी तीव्र, अर्घाखाँचीमा परिचालन समिति बैठक सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)

























