हृदय भुसाल अर्घाखाँची ।सन्धिखर्क नगरपालिका–१ झिल्केडाडामा बसोबास गर्दै आएका मुखिया समुदायका १० परिवारलाई ओढ्ने डोसाउने न्यानो कपडा वितरण गरिएको छ। सामाजिक तथा राजनीतिक व्यक्तित्व राजु खड्का र उनको परिवारले आईतबार एक कार्यक्रमका बीच उक्त कपडा वितरण गरेका हुन्।
स्व. नरबहादुर खड्का र तेजकुमारी खड्काका छोरा राजु खड्का लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका ब्यक्तित्व हुनुहुन्छ । कपडा वितरण कार्यक्रममा उनकी आमा तेजकुमारी खड्का, श्रीमती गिता खड्का तथा छोराछोरीको समेत उपस्थिति रहेको थियो।
बिगतमा पनि विभिन्न विद्यालयहरुमा शैक्षिक अभियान अन्तर्गत कम्प्युटर वितरणदेखि विपन्न तथा दिनदुःखी व्यक्तिहरूलाई सहयोग गर्दै आएका खड्का सामाजिक कार्यमा अग्रसर रहेको स्थानीयहरूले बताएका छन्।
उक्त कार्यक्रममा बोल्दै राजु खड्काले “सानो सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ। कुनै समस्या परेको खण्डमा सधैं सम्झनुहोला,” भन्दै निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नु भयो ।
त्यसैगरी वडा अध्यक्ष माधव श्रेष्ठले “ २२ वर्षदेखि रोजगारीका लागि विदेशमै रहँदै आउँदा पनि राजु खड्काले सामाजिक रूपमा सक्रिय रहनु भएको थियो, उहाँले गरेका सामाजिक कार्यमा वडा र ब्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्द्छु । वितरण गरिएको कपडाको सहि सदुपयोग गर्न आग्रह गर्दछु,” वडा अध्यक्ष श्रेष्ठले भने।
न्यानो कपडा बितरण कार्यक्रममा वडा अध्यक्ष माधब श्रेष्ठ वडा सदस्य श्रीधर मुखिया, पत्रकार हृदय भुसाल, जितेन्द्र खत्री, स्थानीय अगुवा रिखबहादुर मुखियासहित अन्य सामाजिक ब्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो। न्यानो कपडा वितरणपछि लाभान्वित स्थानीयहरूले जाडोको समयमा ओड्ने–डोसाउने कपडा पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिएका छन्।
खड्का परिवारका तीन दाजु भाई राजु सुन्दर र सुधन सबैलै उतिकै सामाजिक क्षेत्रमा सहयोग गर्न तत्पर रहनु हुन्छ ।


























