
- देशभर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा वर्षा भइरहेको छ ।
- कोशी, बागमती र गण्डकीका २३ जिल्लामा अति भारी वर्षाको रेड अलर्ट जारी गरिएको छ ।
- बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्क रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।
काठमाण्डौ – देशभर मनसुन सक्रिय छ । अहिले कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका तराई क्षेत्रसहित विभिन्न ठाउँमा पानी परिरहेको छ ।
गएराति ठूलो पानी परेको काठमाण्डौ उपत्यकामा बिहानदेखि हल्का मात्रै वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति विभिन्न ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका २३ जिल्लामा उच्च जोखिम अनुमान गरिएको छ । ती जिल्लामा रेड अलर्ट छ । कोशीका ९ जिल्ला झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र खोटाङ, बागमतीका ६ जिल्ला, चितवन, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुली र सिन्धुपाल्चोक तथा गण्डकीका ८ जिल्ला गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ्ग र म्याग्दीमा उच्च जोखिम पहिचान गरिएको हो ।
अति ठूलो वर्षा हुन सक्ने सम्भावित जिल्लाका नदी तथा खोलानाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने ठाउँमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्र्यान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।


























