
- सिद्धान्त केवल भाषण वा किताबी कुरा नभएर व्यवहारमा देखिने इमानदारी र नैतिकता हो।
- धेरै मानिसहरू सुविधाका लागि आफ्नो आदर्श बेच्ने गर्छन् तर केही व्यक्ति अझै पनि आफ्नो विश्वासमा अडिग छन्।
- संसार यिनै थोरै इमानदार मानिसहरूको काँधमा टिकेको छ जसले कठिन परिस्थितिमा पनि आफ्नो नैतिकता गुमाउँदैनन्।

निम्बतरु
सिद्धान्त
किताबका पानामा मात्र बस्ने कुरा होइन रहेछ—
यो त
भोक लागेको बेला
आफ्नो भागको रोटी आधा चुँडाएर
अरूलाई दिन सक्ने हात रहेछ ।
सिद्धान्त
सभा–समारोहका भाषणमा
तालीसँगै बज्ने शब्द होइन,
यो त
एक्लै हुँदा पनि
गलतको पक्षमा उभिन नसक्ने डर रहेछ ।
कति मानिसहरू
सिद्धान्तको नाममा
आफ्नै छायाँ बेचिरहेका छन्,
र कति छन्—
फाटेको जुत्ताभित्र पनि
ईमान लुकाएर हिँडिरहेका ।
समय
सबैभन्दा ठूलो परीक्षा हो—
जहाँ
धेरैजसो मानिस
सुविधाको आगो ताप्न पुग्छन्,
र थोरै मात्र
आफ्नो विश्वासको चिसो ढुंगामा बसिरहन्छन् ।
अन्ततः
मानिसलाई चिनाउने
उसको धन होइन,
उसले बचाएर राखेको
एउटा सानो सिद्धान्त हो ।
तर—
सिद्धान्त पनि कहिलेकाहीँ
भोकसँग हार्छ,
छोराको औषधि किन्न नसक्ने बाउका आँखामा
क्रान्तिका नारा बिस्तारै फिका हुँदै जान्छन् ।
तर—
यो पनि सत्य हो,
धेरै मानिसहरूले
सिद्धान्तलाई
कोटको गोजीमा राख्ने रुमालजस्तो बनाइदिए—
सभा सकिएपछि फेर्ने ।
कसैले धर्मको सिद्धान्त बेच्यो,
कसैले देशको,
कसैले प्रेमको—
र अन्त्यमा
आफ्नै अनुहार चिन्न गाह्रो पर्ने गरी
आत्मा साटियो ।
तर
अझै कतै
एकजना बूढो शिक्षक
पुरानो झोलाभित्र
ईमान बचाएर हिँडिरहेका छन्,
एकजना आमा
छोरालाई भन्छिन्—
“झूट बोलेर ठूलो हुनुभन्दा
साँचो बोलेर सानो हुनु राम्रो ।”
सायद
संसार यिनै थोरै मानिसहरूको काँधमा
अझै अडिएको छ ।

























