
निम्बतरु
सकिँदैन रहेछ
हृदयले हरेक बिहान आफूलाई बिस्तारै उठाउन
यो शरीरले होइन, समयले थकाएको थकान थियो
एक किसिमको अदृश्य बोझ जसलाई न देखिन्छ,
न अँगाल्न सकिन्छ
शहर टाढा, पहाडको मूलढुंगामुनि बसेको गाउँमा पनि कत्तिको भारी हुस्सु झर्छ
यस्तै हुस्सु
मनभित्र पनि झर्छ भन्ने कसैलाई थाहा हुँदैन
यसै हुस्सुको भित्रतिर कतै,
मेरो हृदय बारम्बार आफैँसँग ठोक्किन्छ
आकाश खुलेको दिन जस्तो स्वच्छ साँस लिन खोज्दा पनि, नजानी–नजानी कुहिरोको भित्ताले बाटो छेकिदिन्छ
हृदय एउटा थकित यात्रुजस्तै
बन्द कोठाको ढोकामा ढकढक्याइरहन्छ
“मलाई बाहिर निस्किन देऊ”—भन्छ,
तर उत्तर फर्कँदैन।
मनको हुस्सु अनौठो हुन्छ
यो बाहिरको जस्तै
बिहानै थपिदिने र दिउँसो हट्ने नियम मान्दैन
यसको आफ्नै ताल छ, आफ्नै बानी
कहिले दैनिकीको भीडले यसलाई घना बनाइदिन्छ,
कहिले एउटा नबोलेको शब्दले,
कहिले त केवल भित्र गुम्सिएको रात्रीले।
हृदय निस्सासिन्छ,
तर म बाहिरबाट सबै ठीक नै देखिन्छु
जस्तै घरको झ्यालभित्र डढ्ने आगो बन्द ढकनीले लुकाउँछ, ठीक त्यस्तै—हुस्सुले भरिएको भित्री अँध्यारोले बाहिरको अनुहारलाई सामान्य नै देखाउँछ।
कसरी बुझाउँ?
मानिसहरू भन्छन्—“धेरै सोच्यौ, त्यसैले गाह्रो भयो”।
तर मनको हुस्सु सोचेर पलाएको हुँदैन
यो त गन्तव्य छुटेपछि बाटोमै अड्किएको यात्रुजस्तै हो
कतै नपुग्ने, कतै फर्कन नसक्ने,
बस! बिचैमा कुहिरोसँगै थुनिएको।
हृदयले कहिलेकाहीँ आफूलाई सम्झाउँछ
“हुस्सु अस्थायी हो, अवश्यै उठ्छ।”
तर मन भन्छ
“उठ्ने कुरा मात्रै होइन,
म एउटा घना जाल भित्र परेर दिशा हराएको छु।”
यही द्वन्द्वका बीच,
हृदय बिस्तारै धड्कनलाई सानो बनाउँदै लैजान्छ
जसरी हुस्सु धेरै बाक्लिएपछि
आवाजहरू पनि बिस्तारै मथ्थर बन्छन्।
सायद यही कारण,
हृदय कहिले काँही
आफ्नो निस्सासिएको कोठाबाट बाहिर निस्किएर
थोरै उज्यालो चोर्दै फर्किन्छ
जस्तै बिहानमा पहिलो किरण कुहिरोसँग उठ्छ
हुस्सुभित्र निस्सासिएको हृदय अन्ततः निभ्छ
हृदय भने कतै न कतै भित्रैबाट निभ्छ

























